झापा : झापामा हालै भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक घटनामा मोटरसाइकल ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ भने अर्कोमा सवारी दुर्घटनामा घाइते भएका साइक्ल यात्रीको उपचारपश्चात मृत्यु भएको हो ।
बिर्तामोडमा मोटरसाइकल ठक्करबाट पैदल यात्रीको मृत्यु
बिर्तामोड नगरपालिका–१, अञ्जली अस्पताल नजिक मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय कृष्णबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कन्यामबाट पश्चिम दुहबीतर्फ जाँदै गरेको प्रदेश–१–०२–००१ प ३५५७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
घाइते मगरलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मोटरसाइकल चालक २० वर्षीय बसन्त माझी, सुनसरी दुहबी नगरपालिका–६ बस्ने, प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।
साइक्ल यात्रीको उपचारपछि मृत्यु
यस्तै, अर्को दुर्घटना मेचिनगर नगरपालिका–७, स्कुलडाँगीस्थित भित्री सडकमा भएको थियो । मदन बस्तीबाट इँटाभट्टातर्फ आउँदै गरेका साइक्ल यात्रीलाई सोही दिशातर्फ आउँदै गरेको मे.७ प ५००६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय क्षितिज राजवंशी, मेचिनगर–७ निवासी, बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारपछि डिस्चार्ज भएका थिए । तर उपचारपछि घरमा फर्किएका राजवंशीको दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया