विराटनगरमा ‘अनलाइन व्यापार’को आवरणमा कपडा तस्करी, ८३ थान साडी बरामद

सोमबार, २१ पुस २०८२

विराटनगर: नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै तस्करहरूले ‘अनलाइन व्यापार’को बहानामा कपडाको अवैध ओसारपसार गर्न थालेको खुलासा भएको छ। मोरङ प्रहरीले विराटनगरको रानी नाका क्षेत्रबाट नयाँ शैलीमा गरिएको कपडा तस्करी नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सोमबार दिउँसो विराटनगर महानगरपालिका–१५ भट्टाचोकबाट ८३ थान साडी सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–७ का २५ वर्षीय दिनेश माझी रहेका छन्।

भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल शंकास्पद देखिएपछि रोकेर जाँच गर्दा मोटरसाइकलमा ‘नेपाल क्यान मूभ’ लेखिएको ठूलो ब्याग फेला परेको प्रहरीले जनाएको छ। खानतलासी गर्दा ब्यागभित्र भन्सार छली नेपाल भित्र्याइएका साडीहरू भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

प्रहरीका अनुसार साडीहरू ‘अनलाइनमार्फत बिक्रीका लागि’ भन्दै नक्कली तथा शंकास्पद बिल तयार गरिएको पाइए पनि बिल र सामानबीच कुनै मेल नदेखिएपछि अवैध कारोबार पुष्टि भएको हो। बरामद साडीको अनुमानित मूल्य २ लाख ७ हजार ५ सय रुपैयाँ र प्रयोग गरिएको मोटरसाइकलको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको छ।

प्रारम्भिक सोधपुछमा माझीले सामान अनलाइन डेलिभरीका लागि ल्याइएको दाबी गरे पनि भन्सार भुक्तानी, आयात अनुमति वा वैध कागजात प्रस्तुत गर्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय मोटरसाइकल, साइकल वा साना झोलामार्फत ‘ई–कमर्स’को नाममा कपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स र खाद्यान्न तस्करी गर्ने प्रवृत्ति बढ्दै गएको छ। साना परिमाणमा पटक–पटक सामान ल्याइने भएकाले तस्करहरू सजिलै निगरानीबाट उम्किने गरेका छन्।

रानी नाका दैनिक भीडभाड र आवतजावत बढी हुने संवेदनशील सीमा क्षेत्र भएकाले तस्करीका लागि सहज मार्ग बन्दै गएको प्रहरीको निष्कर्ष छ। यस घटनाले तस्करीको स्वरूप अझ चलाख र संगठित बन्दै गएको संकेत दिएको एसपी कटवाल बताउँछन्।

बरामद सामान, मोटरसाइकल र पक्राउ परेका माझीलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय व्यवसायीहरू भने यस्ता अवैध गतिविधिका कारण वैध व्यापारी मारमा पर्ने र राज्यले ठूलो राजस्व गुमाउने गरेको गुनासो गर्छन्। उनीहरूका अनुसार ‘अनलाइन’को नाममा हुने तस्करीले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ।

प्रहरीले सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको बताउँदै शंकास्पद गतिविधि देखे तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार