सुनसरी : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नयाँ नेतृत्वका लागि हुने महाधिवेशनमा सुनसरीका बासुदेव दाहाल उपाध्यक्ष पदका प्रत्यासी हुने भएका छन । इक्यानको २० औँ साधारणसभा सहित यही पौष २८ गते हुने अधिवेशनमा दाहाल उपाध्यष पदका उम्मेवार बन्ने भएका हुन्।
नयाँ नेतृत्व चयन समेत गर्ने साधारणसभामा उपाध्यक्षको उम्मेदवार बनेका सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६, मधेसा, झकनझोराका स्थायी बासिन्दा दाहाल अहिले काठमाडौंको बागबजारमा प्राञ्जल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । दाहालको शैक्षिक परामर्श सेवाबाट लाभान्वित भएर एक हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनको अवसर हासिल गरिसकेका छन् ।
उपाध्यक्षका प्रत्यासी दाहालले बढीजसो आफनो कन्सल्टेन्सीबाट अष्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा लिने गरेको जानकारी गराए । यसअघि इक्यानको सचिवको जिम्मेवारी बहन गरिसकेका दाहाल १९ औँ साधारणसभामा महासचिवका उम्मेदवार बनेका थिए, तर पराजित भए । यसपटक जित्ने गरी चुनावी यात्रामा लागेको दाहाल बताउँछन् ।
मधेसाकै जनता माविबाट एसएलसी र महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिक गतिविधिमा संलग्न भए । पहिला एमाले र पछि सशस्त्र द्वन्द्वकालमै माओवादीमा सम्वद्ध रहे । त्यसक्रममा दाहालले केही समय जेल जीवन पनि बिताएका थिए । माओवादी गतिविधिमा सामेल भएर जेल परेका उनी त्यहाँबाट रिहा भएपछि जीवनरक्षाका निम्ति काठमाडौं गएका हुन् । यद्यपि, त्यहाँ रहेर पनि पार्टी कामसँगै शैक्षिक क्षेत्रमा संलग्न भए ।
दाहालले निजी विद्यालयको शिक्षकबाट आफ्नो शैक्षिक सेवा प्रारम्भ गरेका हुन् । ललितपुर जिल्लालाई कर्मथलो बनाउँदै शिक्षण पेशमा संलग्न दाहालले त्यहीँबाट प्राञ्जल एजुकेशन कन्सल्टेन्सी शुरु गरे । तर, विगत ७ वर्षदेखि उनले कन्सल्टेन्सीलाई काठमाडौंको पुतलीसडक हुँदै अहिले बागबजारबाट सञ्चालन गर्दै आएका छन् ।
शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय व्यवसायीको सर्वोपरी हितका निम्ति दत्तचित्तका साथ लागि पर्ने उपाध्यक्षका प्रत्यासी दाहालले अठोट गरेका छन् ।
विगतमा सदस्य र सचिव रहँदा उक्त संस्थामा खेलेको भूमिकाका कारण व्यवसायीबीच दाहाल लोकप्रिय छन् । आउँदा दिनमा शैक्षिक परामर्श व्यवसायको श्रीवृद्धिसँगै उक्त क्षेत्रका व्यवसायको हितका निम्ति सम्पूर्ण समय खर्चिने दाहालले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया