बिर्तामोड : शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले संकटा फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खेलको सुरुवातदेखि नै दुबै टिमबीच आक्रमण–प्रत्याक्रमणको रोमाञ्चक खेल प्रदर्शन भएको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर पाए पनि गोल गर्न सकेनन् । यो संस्करणको प्रतियोगितामा पहिलोपटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
दोस्रो हाफमा भने पुलिसले उत्कृष्ट प्रदर्शन गर्यो । खेलको ७० औँ मिनेटमा पूजा रानाको फ्रिकिकमा मिना देउबाले हेडमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि ८२ औँ मिनेटमा संकटाकी कप्तान यशोदा शाहीको गल्तीको फाइदा उठाउँदै रेखा पौडेलले दोस्रो गोल गरिन् ।
खेलको अन्त्यतिर संकटा क्लबले केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । अन्ततः पुलिस २–० गोलले विजयी रहँदै फाइनलमा पुगेको हो ।
अब नेपाल पुलिस क्लबले उपाधिका लागि भोलि हुने एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया