काठमाडौं । नेकपा एमालेका नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा हालै भएको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलको जिम्मेवारी खोसिएको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
ओलीले आफूविरुद्ध उभिने पार्टीका नेताको जिम्मेवारी खोसेको यो पहिलो पटक भने होइन । यसअघि १० औं महाधिवेशनमा आफूविरुद्ध अध्यक्ष पदमा उम्मेदवार भएका तत्कालीन उपाध्यक्ष भीम रावलको जिम्मेवारी पनि ओलीले खोसेका थिए ।
लामो समयसम्म पार्टीमा जिम्मेवारी विहीन राखिएका रावललाई गत संसदीय निर्वाचनमा ओलीले टिकट पनि दिएका थिएनन् । पार्टीभित्र धेरै वर्ष उपेक्षित रहेका रावल अन्ततः पार्टी परित्याग गरेर अहिले नेपाली कम्युनिस्ट पार्टीमा छन् ।
अहिले पनि पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्ताव स्वयं हध्यक्ष ओलीले नै गरेका थिए । जिम्मेवारी हेरफेरको प्रस्ताव गर्दै ओलीले भनेका थिए ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो । उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।’ विष्णु रिमाल उपमहासचिवमा उम्मेदवार थिए र केन्द्रीय सदस्य समेत हारेका थिए । उनी ओली प्रधानमन्त्री हुँदा सरकारको निर्णायक भूमिकामा हुन्थे ।
प्रतिक्रिया