जेन्जी मुभमेन्टको घोषणा : ‘अब निर्णायक सङ्घर्ष हुनेछ’

“कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्। यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।”

विहीबार, २० कार्तिक २०८२

काठमाडौँ : जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि ‘निर्णायक सङ्घर्ष’ सुरु गर्ने घोषणा गरेको छ।

काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका मूल मुद्दाहरू अपहरण गरिएको भन्दै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो।

भेलामा सहभागीहरूले पछिल्ला राजनीतिक नेतृत्वमाथि कडा आक्रोश व्यक्त गर्दै भने, “नयाँ पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको छ।”

मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि सिधा प्रहार गर्दै भन्यो — “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्। यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।”

मुभमेन्टका प्रवक्ता विजय शाहले भने, “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रूपान्तरण खोजेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनर्संरचना बिना स्थायित्व र सुशासन सम्भव छैन।”

भेलाले माग राख्दै भन्यो —

  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नुपर्छ।

  • संस्थागत पुनर्संरचना पूर्ण नभएसम्म आन्दोलन जारी रहन्छ।

मुभमेन्टले अबको आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने प्रतिबद्धता जनाएको छ। देशभरका युवाहरू, नागरिक समाज र सचेत वर्गलाई पुनः एकताबद्ध हुन आह्वान गर्दै मुभमेन्टले भन्यो, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो।

यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म सङ्घर्ष गर्नेछ।” कार्यक्रममा आन्दोलनका अगुवा अजय सोडारीले विद्रोहका मुद्दाहरूलाई संस्थागत गर्न सबैलाई साझा मोर्चामा आउन आह्वान गरे। उनका अनुसार, “नयाँ पुस्ताले उठाएका मुद्दा राष्ट्रको पुनर्निर्माणका आधार हुन्, तिनलाई असफल हुन दिइने छैन।”

भेलामा आन्दोलनका आगामी चरण, जनसम्पर्क विस्तार र राष्ट्रिय समन्वय समिति गठन सम्बन्धी विषयमा पनि विस्तृत छलफल भएको बताइएको छ। मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ।

भेलाले कार्तिक २३ गते काठमाडौँमा ‘जेन्जी राष्ट्रिय सभा’ गर्ने निर्णय गर्दै नयाँ पुस्ताको सङ्घर्षलाई निर्णायक मोडमा लैजाने घोषणा गरेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार