उद्यमी देशबन्धु बस्नेतको नेतृत्वमा इटहरीमा भित्रियो अमेरिकी होटल चेन ब्रान्ड ‘रमडा बाइ विन्डम’

आइतबार, २० पुस २०८२

इटहरी : कोशी प्रदेशको व्यापारिक केन्द्र इटहरीमा विश्वविख्यात अमेरिकी होटल चेन ब्रान्ड ‘रमडा बाइ विन्डम’ सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आधुनिक सुविधा, अन्तर्राष्ट्रियस्तरको सेवा र परम्परागत नेपाली आतिथ्यको संयोजनसहित सञ्चालनमा आउन लागेको यस होटलबाट स्थानीय अर्थतन्त्र र रोजगारी अवसरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

उद्यमी देशबन्धु बस्नेत (अजित)को नेतृत्वमा निर्माण भइरहेको रमडा बाइ विन्डम इटहरीले करिब एक महिनाभित्र पूर्ण क्षमतामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। होटलमा कुल ८१ वटा कोठा रहनेछन्, जसमा डिलक्स रुमदेखि स्वीट रुमसमेत समावेश छन्। साथै आल डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, टेरेस बार, अत्याधुनिक स्वीमिङ पूल, जिम, स्टीम–साउना, आउटडोर लाउन र पूल बारजस्ता सुविधाहरू समेत रहनेछन्। विवाह, सम्मेलन र ठूला कार्यक्रममा लक्षित दुईवटा ब्यांक्वेट हल र आधुनिक मिटिङ रुमले यसलाई कर्पोरेट तथा सामाजिक कार्यक्रमका लागि पनि आकर्षक गन्तव्य बनाउने बताइएको छ।

होटलको सञ्चालनसँगै ८० जनाभन्दा बढी स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। उद्यमी बस्नेतका अनुसार यसले युवालाई आफ्नै सहरमै अन्तर्राष्ट्रिय स्तरको सीप र अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ। इटहरी र आसपासका व्यवसाय, यातायात, पर्यटन सेवा र सहायक उद्यममा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

कोशी प्रदेशको राजधानी विराटनगर नजिक रहेको इटहरी भारतको बिहार र पश्चिम बंगालसँग सहज जोडिएको व्यापारिक ट्रान्जिट क्षेत्र हो। जोगबनी र किमान्थाङ नाकामार्ग हुँदै हुने आवागमनका कारण इटहरीको क्षेत्रीय महत्व बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय होटल ब्रान्ड प्रवेश हुनु पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका दृष्टिकोणले महत्वपूर्ण उपलब्धि मानिएको छ।

उद्यमी बस्नेतले रमडा बाइ विन्डम इटहरीले भेडेटार, श्रीअन्तु, कोशी टप्पु, इलाम, रामधूनी, बराहक्षेत्र र चतराधामजस्ता गन्तव्यहरूमा पर्यटक आवागमन बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार धार्मिक, प्राकृतिक र अवकाश पर्यटनलाई एकीकृत ढंगले जोड्ने रणनीतिअन्तर्गत यो परियोजना अघि बढाइएको हो।

रमडा बाइ विन्डम इटहरी सञ्चालनमा आएपछि पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा परिचित गराउने, सेवा गुणस्तरमा नयाँ मापदण्ड स्थापित गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। होटलको आगमनले क्षेत्रीय विकास, रोजगारी सृजना र सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने सरोकारवाला पक्षहरूले बताएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार