अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया मादुरोलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, मादुरो दम्पती अमेरिकी सेनाको हिरासतमा रहेको र भेनेजुएलाबाट अमेरिकामा लगिएको उल्लेख गरे। ट्रम्पका अनुसार आक्रमणको क्रममा केही मानिसहरू घाइते भए पनि कसैको मृत्यु भएको छैन।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले मादुरो दम्पतीलाई न्यूयोर्क लगिएको र उनीहरूले त्यहाँ मुद्दाको सामना गर्ने जानकारी दिएका छन्। उनले यो अभियानलाई ‘टिभी कार्यक्रम जस्तै’ अनुभव भएको समेत बताए।
सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरे अनुसार, अमेरिकी सेनाको विशेष डेल्टा फोर्सले मध्यरातमा मादुरो दम्पतीलाई सुतिरहेको बेला बेडरूमबाटै हिरासतमा लिएर बाहिर लगेको थियो। यस क्रममा कुनै अमेरिकी सैनिक घाइते नभएको जानकारी दिइएको छ।
भेनेजुएला किन अमेरिकाको निशानामा?
अमेरिका र भेनेजुएलाबीच लामो समयदेखि तनाव छ। भूराजनीतिक प्रभुत्व, प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रण र बदलिँदो भूराजनीतिक अवस्थाले यो तनावलाई बढाएको विश्लेषकहरूले बताउँछन्।
अमेरिकाले मादुरो सरकारलाई नार्को आतंकवाद र लागूपदार्थ तस्करी बढाउने गम्भीर आरोप लगाउँदै आएको छ। अमेरिकी अधिकारीहरूले मादुरोको नीतिले देशभित्र र क्षेत्रीय रूपमा लागूपदार्थको तस्करीलाई प्रोत्साहित गरेको भन्दै यसको विरोध गर्दै आएका छन्।
प्रतिक्रिया