झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको जनाइएको छ।
यसक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस गरिएको एमालेले जनाएको छ। शनिबार सम्पन्न एमाले क्षेत्र नं. ५ को क्षेत्रीय समन्वय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।
झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो। उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। दमक–४ स्थित एमाले दमक नगर कमिटीको कार्यालयमा क्षेत्रीय इन्चार्ज नारायणप्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ।
यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईं रहेका छन्। मेचीनगर–६ स्थित एमाले मेचीनगर नगर कमिटीको कार्यालयमा बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको बताइएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर २ बाट १३ जनाको नाम सिफारिस गरिएको जनाइएको छ। सिफारिस हुनेमा देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छबिलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रकाश ओली, पर्वत भण्डारी, रोजिना पाण्डे, जसमाया गजमेर, एकराज कार्की र पवित्रा पाठक रहेका छन्।
त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट पाँच जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ दिपक कार्की, हरिबहादुर राजवंशी, बसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट भने एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको एमालेले जनाएको छ।
प्रतिक्रिया