एयर ट्राफिक कन्ट्रोलर्स ‘अक्षम’ भएको अभिव्यक्ति प्रति नेपाल हवाई यातायात नियन्त्रक सङ्घको आपत्ति, कारबाहीको माग

शनिबार, १९ पुस २०८२

इटहरी । नेपाल हवाई यातायात नियन्त्रक सङ्घले नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ कर्मचारीद्वारा सार्वजनिक मञ्चमा गरिएको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाएको छ। एक अनलाइन मिडियामा क्यानभित्र संस्थागत विचलन, नियामककै तजबिजी निर्णायक प्रकाशित समाचार पछि संघले विज्ञप्ति जारी गर्दै सो अभिव्यक्तिलाई गैर जिम्मेवार, तथ्यहीन र पेसागत मर्यादा विपरीत भनेको हो।

समाचारका अनुसार सम्बद्ध कर्मचारीले सार्वजनिक कार्यक्रममै “एयर ट्राफिक कन्ट्रोलर्सहरू अक्षम छन्, त्यसैले म हवाई यात्रा गर्न डराउँछु” भन्ने टिप्पणी गरेका थिए।

  सङ्घले यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेका एयर ट्राफिक कन्ट्रोलर्सहरूको पेसागत गरिमा र मनोबलमा आघात पु¥याएको जिकिर गरेको छ। साथै आम यात्रुबिच अनावश्यक भय र भ्रम सिर्जना गर्दै सम्पूर्ण नेपाली नागरिक उड्डयन प्रणालीको विश्वसनीयतामै नकारात्मक असर परेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ कि नेपालका एयर ट्राफिक कन्ट्रोलर्सहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार प्रशिक्षणप्राप्त, प्रमाणित तथा निरन्तर मूल्याङ्कनमा रहेका दक्ष जनशक्ति हुन्।

 यस्तो संवेदनशील क्षेत्रमा कार्यरत जिम्मेवार पदाधिकारीबाट प्रस्तुत जस्तो टिप्पणी आउनु “दुर्भाग्यपूर्ण मात्र नभई उड्डयन सुरक्षाप्रतिको सार्वजनिक विश्वास कमजोर पार्ने काम” भएको सङ्घको अभिव्यक्ति छ।

नेपाल हवाई यातायात नियन्त्रक सङ्घले सम्बद्ध कर्मचारीबाट सार्वजनिक रूपमा तत्काल स्पष्टीकरण र क्षमायाचना गराउन माग गरेको छ। साथै ती कर्मचारीलाई अन्यत्र सरुवा गरी आवश्यक कारबाही गर्न र भविष्यमा यस्ता गैर जिम्मेवार अभिव्यक्ति नदोहरिने सुनिश्चितता गर्न प्राधिकरणलाई आग्रह गरेको छ। 

सङ्घले माग सम्बोधन नभए “पेसागत मर्यादामाथिको धावा” मान्दै सङ्घर्षका कार्यक्रम समेत अघि बढाउन बाध्य हुने चेतावनी दिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार