झापा : भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे बुद्ध एयरको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन्।
काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर–रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले प्रारम्भिक जानकारी दिए।
उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमान इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ र अन्य छ जना यात्रु घाइते भएका छन्।
घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन्।
घाइतेहरूलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्काल भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचारका लागि पुर्याएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए।
उक्त विमान शुक्रवार राति ८ः२३ बजे काठमाडौँबाट उडेको थियो र ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बूको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको थियो। प्रहरीले सबै यात्रुलाई सकुशल जहाजबाट बाहिर निकालेर घाइतेहरूलाई अस्पताल पुर्याएको जनाएको छ।
प्रतिक्रिया