रोग नै सबैभन्दा ठुलो शत्रु हो,रोग पालेर कसैले नबसौँ : जुना दानी

सोमबार, १७ कार्तिक २०८२

बाजुरा । सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले रोग नै सबैभन्दा ठुलो शत्रु भएको बताएकी छन् । आइतबार  जिल्ला अस्पताल बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मानिसले सहज रूपमा जीवन जिउन सबैभन्दा पहिला उसलाई स्वास्थ्य शरीर आवश्यक हुनुपर्ने बताउँदै उनले कसैले पनि रोग पालेर बस्न नहुने बताइन् । स्वास्थ्य संवेदनशील क्षेत्र भित्र पर्ने भएकाले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुपर्ने कुरामा दानीले जोड दिइन् ।

व्यक्तिसँग धन दौलत,ऐसआराम जति भए पनि जब शरीर नै रोगी छ भने त्यसले जीवनभर सताइरहने उनले बताएकी हुन् । उनले भनिन्, ‘व्यक्ति बिरामी अर्थात् रोगी छ भने त्यो कहिल्यै तृप्त हुन सक्दैन । न उसले देश दुनियाँ घुमेर रोमाञ्चक गर्न सक्छ नत सहज जीवन जिउन । त्यसैले मानिसको सबैभन्दा ठूलो शत्रु भनेकै रोग हो ।’

मानिसका लागि सबैभन्दा ठूलो उपलब्धि भन्नु नै निरोगी हुनु हो । निरोगी रहनु जस्तो आनन्द अरू केही हुन सक्दैन । त्यसैले रोगलाई परास्त गरी निरोगी जीवन जिउन आवश्यक छ । रोग नै त्यस्तो शत्रु हो, जसले हामीलाई खान दिन्छ,न सुत्न दिन्छ । जीवन नै नर्क जस्तो बनाइदिन्छ ।दानीले बताएकी हुन् ।

साथै उनले बाजुरा जस्तो दुर्गम तथा पिछडिएका ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनु खुसीको कुरा रहेको समेत बताइन् । शिविरबाट प्रदान गरिने हरेक सेवा लिन सम्पूर्ण बाजुराबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आग्रह दानीले गरेकी हुन् ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालनबाट यहाँका गरिब, दुखी, उपचार नपाएका व्यक्तिहरूका लागि शिविर वरदान साबित बन्ने अपेक्षा लगिएको समेत उनले बताइन् । दुर्गमका नागरिकलाई सेवा दिन सहयोग गर्ने नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ हाड जोर्नी विशेषज्ञहरूलाई धन्यवाद समेत दिएकी छन् ।

२१ गतेसम्म सञ्चालन हुने उक्त शिविर नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडी मालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा  सञ्चालन गरिएको हो । ४७ औँ बर्ष देखि गैरनाफामुलक सेवा दिँदै आएको नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटीले बाजुराका विपन्न,असहाय,विभिन्न रोगबाट ग्रसित बिरामीहरूलाई सहज रूपमा सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार