सिमकोट । यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतङ्क मच्चाएको छ ।
डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ । गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको स्थानीय मन्दिर सिंहले बताए ।
यो महिना मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएको सिंहले बताए । मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले आर्थिक नोक्सानीमा परेको उनको भनाइ छ ।
स्थानीय मौरीपालक देवी शाहीका दुई वटा, धनबहादुर शाही (सार्की) का तीन वटा र जङ्गसुर शाहीका तीन वटा गरी आठ वटा मह निकाल्ले तयारीका मौरीघारमा भालुले क्षति गरेको छ ।
सिंहका अनुसार देवी शाहीको घरमा रहेको कुकुर समेत भालुले मारेको छ । अहिले मौरीको घारमा भालुले क्षति गरेको छ । भालुलाई नियन्त्रण नगरेमा गाउँमा पशु चौपायदेखि मानवीय क्षतिसम्म हुनसक्ने भएकाले भालुलाई नियन्त्रण गर्ने उपाय निकाल्न स्थानीयले आग्रह गरेको सिंहले जानकारी दिए ।
भालु नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जङ्गलमा नजान आग्रह गरिएको छ ।
प्रतिक्रिया