“अर्बौँ रुपैयाँ कर राज्यलाई बुझाइरहेका निजी लगानीकर्तालाई माफिया भन्नु गलत हो” : अध्यक्ष कार्की

सोमबार, १७ कार्तिक २०८२

काठमाडौं । एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्कीले देशमा निजी स्वास्थ्य क्षेत्रमा लगानी गर्नेहरूबारे बनाइएको नकारात्मक धारणा गलत भएको बताएका छन् ।

उनले निजी क्षेत्रका लगानीकर्तालाई ‘लुटेरा’, ‘माफिया’ वा ‘डाँका’का रूपमा चित्रण गर्नु अन्यायपूर्ण र गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे ।

कार्कीका अनुसार, नेपाल सरकारले सञ्चालन गर्ने सरकारी अस्पतालहरूको सेवा शुल्क र सञ्चालन लागतको यथार्थ मूल्यांकन गर्दा ती निजी अस्पतालभन्दा तीन गुणा बढी पर्ने देखिन्छ ।

उनले भने, “यदि त्यहाँ हुने ढिलासुस्ती, अनियमितता र अक्षमताको मूल्य पनि जोडियो भने त्यो खर्च पाँच गुणा बढी हुनेछ ।”

उनले थपे, “तर पनि, देशका राजनीतिक दल, राजनीतिकर्मी, सञ्चार माध्यम र सरकारी अधिकारीहरूकै हातबाट निजी क्षेत्रमाथि दोषारोपण र अविश्वासको भाष्य निर्माण गरियो ।

राज्यका अंगहरूले नै लगानीकर्तामाथि गलत धारणा फैलाउने वातावरण बनाइदिए, जुन गम्भीर विषय हो ।”

कार्कीले निजी क्षेत्रले देशको स्वास्थ्य सेवाको करिब ७० प्रतिशत जिम्मेवारी बोकेको दाबी गर्दै भने, “निजी क्षेत्रले लाखौँमा रोजगारी सिर्जना गरेको छ, अर्बौँ रुपैयाँ कर राज्यलाई बुझाइरहेको छ र देशको अर्थतन्त्रलाई चलायमान राखेको छ ।”

उनले देशमै जोखिम मोलेर स्वास्थ्य क्षेत्रमा लगानी गर्नेहरूलाई अपमानित गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

“जुन वर्गले देशमै रहँदै माटोलाई सम्हाल्दै लगानी गरेर देशलाई सेवा दिइरहेको छ, त्यसलाई सम्मानको सट्टा तिरस्कार गरियो । यस्तो व्यवहार कहिलेसम्म सहने ?” उनले प्रश्न गरे ।

राज्यले निजी क्षेत्रका लगानीकर्ताको पनि आवाज सुन्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, “राज्यका दुईवटा कानमध्ये एउटा कानले निजी क्षेत्रको आवाज पनि सुन्नुपर्छ । हामी पनि यो देशका नागरिक हौं, हाम्रो पनि अधिकार छ ।”

अन्त्यमा, अध्यक्ष कार्कीले चेतावनी स्वरमा भने, “यदि बेलैमा राज्यले निजी स्वास्थ्य क्षेत्रको पीडा र मर्का बुझेन भने लगानीकर्ताहरू पनि आफ्नो हक अधिकारको मागसहित सडकमा आउन बाध्य हुनेछन् । त्यसैले समयमै सबै पक्षले जिम्मेवारीपूर्वक कदम चाल्न जरुरी छ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार