सुनसरी । शुभ दीपावली २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत इनरुवाले कात्तिक ३ गतेदेखि कात्तिक ८ गतेसम्म नियमित कामकाज बन्द रहने तर अत्यावश्यक सेवा भने सञ्चालनमा रहने जनाएको छ।
अदालतले एक सूचना जारी गर्दै सार्वजनिक बिदा अवधिमा पनि नागरिकका मौलिक हकसँग सम्बन्धित काम—विशेषगरी वन्दी प्रत्यक्षीकरण, पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमति प्रदान गर्ने तथा जरुरी आदेशका कार्यका लागि अदालत खुला रहने व्यवस्था मिलाइएको जनाएको हो।
अदालतका अनुसार कात्तिक ३ गतेदेखि ८ गतेसम्म शनिबार र भाइटिकाको दिन बाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ। यस अवधिमा वन्दी प्रत्यक्षीकरण र अन्य अत्यावश्यक कानुनी कार्यसम्बन्धी मुद्दा मात्र दर्ता र सुनुवाइ गरिनेछ। अदालतले सर्वसाधारण, कानुन व्यवसायी र सम्बन्धित निकायहरूलाई यो व्यवस्था बारे जानकारी गराउन सार्वजनिक सूचना जारी गरेको हो।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ बमोजिम, पक्राउ परेका व्यक्तिका हकमा जरुरी आदेश वा अनुमति दिनुपर्ने अवस्थामा अदालत खुला रहने व्यवस्था मिलाइएको अदालतले स्पष्ट पारेको छ। सेवाग्राहीहरूलाई कुनै अत्यावश्यक कानुनी कारणले अदालतमा उपस्थित हुनुपर्ने अवस्था आएमा तोकिएको समयमा सम्पर्क गर्न सकिने अदालतले जनाएको छ।
जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “बिदा अवधिभर पनि आवश्यक परेमा अदालत खुला रहने व्यवस्था गरिएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो।”
दीपावलीको अवसरमा देशभरका अधिकांश सरकारी कार्यालयहरू बिदा रहने प्रचलन भए पनि न्यायालयहरूले वन्दी प्रत्यक्षीकरण जस्ता संवैधानिक अधिकारसँग सम्बन्धित विषयमा विशेष व्यवस्था गर्दै आएका छन्। यस वर्ष पनि सुनसरी जिल्ला अदालतले यही अभ्यासलाई निरन्तरता दिँदै बिदा अवधिमा पनि सेवा आवश्यक परेमा सम्पर्कका लागि सहज वातावरण मिलाउने प्रतिबद्धता जनाएको छ।
अदालतका अनुसार यो व्यवस्थाले नागरिकका मौलिक हकको सुनिश्चितता र न्यायमा पहुँच सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया