इटहरी । आगामी शुभ दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा सुनसरी जिल्ला प्रशासन कार्यालयले राति १० बजेपछि देउसी–भैलो तथा नाचगानजस्ता कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेको छ । प्रशासनले आईबार सूचना जारी गर्दै पर्वको समयमा शान्ति सुरक्षा कायम राख्दै मर्यादित र सभ्य ढङ्गले चाडपर्व मनाउन सबै जिल्लावासीलाई आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्धारा हस्ताक्षरित सूचनामा ‘राति १० बजेपछि देउसी–भैलो, नाचगान वा यस्ता कुनै गतिविधि गर्न नपाइने’ उल्लेख गरिएको छ । साथै, सार्वजनिक स्थानमा होहल्ला, झगडा, मदिरा सेवन, आतसबाजी, पटाका फुटाउने वा यस्ता वस्तु बिक्री वितरण गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
सूचनामा भनिएको छ, “पर्वको उल्लासमा सबैले आफ्नो धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दै धार्मिक सद्भाव कायम गर्नुपर्छ ।” प्रशासनले भीडभाडजन्य गतिविधिबाट समाजमा अशान्ति र अवरोध सिर्जना हुने कार्य नगर्न पनि अनुरोध गरेको छ ।
जिल्ला प्रशासनले जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा चाडपर्वका समयमा निगरानी बढाउने तयारी गरेको जनाएको छ । उल्लङ्घन गर्ने व्यक्तिहरू वा समूहविरुद्ध तत्काल कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया