असी दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन

आइतबार, ०२ कार्तिक २०८२

खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका-३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।

स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताए । “कठिन भूगोल र लगातारको वर्षाका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो”, उनले भने, “करिब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ ।”

सडकमा ढुङ्गा ‘सोलिङ’ र ‘ग्राभेलिङ’ कार्य सम्पन्न भइसकेको भन्दै उहाँले हाल एकतर्फी सवारी सञ्चालन भइरहेका जानकारी दिए । सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएका छन् ।

सडक बन्द रहँदा भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दा दैनिक उपयोग्य वस्तुको आपूर्ति, औषधि र निर्माण सामग्रीको अभावमा परेका थिए । यसअघि दैनिक आवागमनका साथै स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामासमेत पहुँच गुमाइएको स्थानीयले बताएका छन् । सडक सञ्चालनमा आएपछि खाँदबारीबाट भोटखोला, हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो अवरोधपछि सडक सञ्चालनमा आउँदा स्थानीयवासीमा खुसी छाएको बताए । “करिब ८० दिनपछि सडक खुलेकामा हामी अत्यन्त खुसी छौंँ”, उनले भने, “अब पुनः अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौँ ।”

कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो । यसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ । सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार