विराटनगर : कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले प्रदेशभरका प्रहरी अधिकारीहरूलाई सन्तुलित, मर्यादित र भयरहित वातावरणमा चाडपर्व सम्पन्न हुने वातावरण बनाउन निर्देशन दिएका छन् ।
तिहार, छठ र उधौलीलगायतका पर्वमा सुरक्षा व्यवस्था कडा पार्न उनले निर्देशन दिएका हुन् । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयबाट आइतबार भर्चुअल बैठकमार्फत डीआईजी कार्कीले सबै जिल्ला प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखहरूसँग प्रत्यक्ष संवाद गर्दै चाडपर्वको अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न उच्च सतर्कता अपनाउन निर्देशन दिए ।
पर्वको उल्लासका समयमा चोरी, तस्करी, कालोबजारी, मदिरा र लागुऔषध ओसारपसार, जुवातास र झैझगडाजस्ता अपराध बढ्ने सम्भावना रहेको भन्दै प्रहरीलाई जिम्मेवारीपूर्वक परिचालन जिल्ला प्रहरी प्रमुखहरूलाई उनको निर्देशन छ । डीआईजी कार्कीले भने, ‘पर्व हाम्रो संस्कृतिको उत्सव हो । रमाइलो सबैले गर्नुपर्छ, तर त्यो मर्यादाभित्र र सुरक्षित वातावरणमा हुनुपर्छ । प्रहरी त्यसका लागि सदैव सजग र संवेदनशील रहनुपर्छ ।’
उनले प्रदेशका सबै सीमाक्षेत्र र नाकामा विशेष निगरानी राख्न समेत निर्देशन दिए । उनले भारतसँग जोडिएका खुला सीमाबाट हुने चोरी, तस्करी, अवैध मदिरा तथा लागुऔषध ओसारपसार रोक्न सशक्त रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्नेलाई नियन्त्रण गर्न जिल्ला प्रशासन र उद्योग वाणिज्य निकायलगायतको संयुक्त अनुगमनमा प्रहरीले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।
त्यस्तै, चाडपर्वको समयमा लाग्ने मेला, पूजा, संगमस्थल र भिडभाड हुने स्थानमा प्रहरीको उपस्थिति बढाउने, सुरक्षात्मक गस्तीलाई सक्रिय बनाउने, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाउने र सीसीटीभी अनुगमनलाई मजबुत बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । यातायात सुरक्षाप्रति पनि कार्कीले विशेष जोड दिएका छन् ।
उनले भने, ‘चालकले क्षमता भन्दा बढी यात्रु नबोकून्, मदिरा सेवन गरी सवारी नचलाउँन्, जोखिमयुक्त मार्गमा प्रहरीको उपस्थिति बढाउनुपर्छ ।’ पर्वको भिडभाडमा सवारी दुर्घटना बढ्ने भएकाले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिन सम्बन्धित प्रहरी प्रमुखहरूलाई कार्कीको निर्देशन छ ।
डीआईजी कार्कीले सम्भावित मौसमी विपद्लाई ध्यानमा राखेर प्रहरी सधैँ तयारी अवस्थामा रहनुपर्ने बताए । अन्य सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी राहत तथा उद्धारमा जुट्नुपर्नेमा उनको जोड छ । ‘जनताको सुरक्षासँगै उनीहरूको जीवन र सम्पत्तिको रक्षा प्रहरीको पहिलो कर्तव्य हो,’ कार्कीले भने, ‘यसमा कुनै कमजोरी हुन दिनु हुँदैन ।’
भर्चुअल बैठकमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक, एसएसपी गोविन्द अधिकारी, प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेललगायतका प्रहरी अधिकारीहरु उपस्थित थिए । बैठकमा सहभागी जिल्ला प्रहरी प्रमुखहरूले आफ्ना जिल्लामा चाडपर्व सुरक्षाको अवस्थाका बारेमा जानकारी गराए । कतिपय जिल्लामा ‘सुरक्षित पर्व अभियान’ सञ्चालन सुरु भइसकेको र संवेदनशील क्षेत्रहरूमा गस्ती बढाइएको विवरण प्रस्तुत गरियो ।
निर्देशन दिँदै डीआईजी कार्कीले भने, ‘प्रहरी जनताको विश्वसनीय अभिभावक हो । नागरिकले निडर, सुरक्षित र उल्लासपूर्ण वातावरणमा पर्व मनाउन पाउन्, त्यो सुनिश्चित गर्नु नै हाम्रो साझा जिम्मेवारी हो ।’ चाडपर्वलाई सुरक्षित, मर्यादित र भयरहित बनाउने जिम्मेवारी प्रहरीले पूरा गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया