विराटनगर :विराटनगर जेसीजले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत दोस्रो दिन बालबालिकाको दन्त स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
जेसी बाल सदन, विराटनगर–१३ मा सम्पन्न कार्यक्रममा विद्यालयका बालबालिकाहरूको निःशुल्क दन्त परीक्षण गरिएको थियो। कार्यक्रमको प्राविधिक सहयोग नौलाखा डेन्टल क्लिनिक, विराटनगरले गरेको थियो। डा. दिपेन्द्र नौलाखाको नेतृत्वमा चिकित्सक टोलीले बालबालिकाहरूको मुख स्वास्थ्य परीक्षण गर्दै नियमित दन्त हेरचाहका उपायहरूबारे सचेतना फैलाएको थियो।
बालबालिकाको स्वास्थ्य र युवाको नेतृत्व सँगसँगै
उपमेयर कार्कीले जेसीजले समाजसेवा र नेतृत्व सिकाइलाई संयोजन गर्दै युवामा सकारात्मक सोच र जिम्मेवारीको भावना विकास गर्ने काम गरिरहेको बताइन्।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल ‘मिलन’ले जेसीजको मूल मर्म ‘सिक्दै सेवा गर्ने’ रहेको बताउँदै युवालाई जिम्मेवार र अनुशासित नागरिक बनाउने कार्यमा संस्थाको योगदान प्रशंसा गरे।
विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष तथा मुख्य संयोजक कविराज दाहालले भने,
“हामीले जेसीज सप्ताहलाई सामाजिक उत्तरदायित्व र युवा सशक्तीकरण दुवै दृष्टिले अर्थपूर्ण बनाउन प्रयास गरेका छौं।”
अध्यक्ष प्रीतेश राज दाहालले युवालाई नेतृत्व र समाजप्रतिको जिम्मेवारीप्रति सचेत बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए।
कार्यक्रममा जेसीज बोर्डका पदाधिकारी, पूर्व अध्यक्षहरू, विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साहजनक उपस्थिति थियो। सप्ताहभर विविध सामाजिक, नेतृत्व विकास र स्वास्थ्य–सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जेसीजले जनाएको छ।
प्रतिक्रिया