पाँच प्रहरी नायव महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

सोमबार, १७ कार्तिक २०८२

काठमाडौं : नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।

नेपाल सरकार गृहमन्त्रालयको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट पदोन्नति भएका ती अधिकृतहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक विशेष समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले दर्ज्यानी चिन्ह प्रदान गरे । 

दर्ज्यानी चिन्ह प्राप्त गर्ने अधिकृतहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहेका छन्।

आईजीपी खापुङ्गले पदोन्नत अधिकृतहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संगठनप्रतिको निष्ठा, दक्षता र कार्यकुशलताको मूल्याङ्कनका आधारमा पदोन्नति भएको बताए ।

उनले परम्परागत सोचाइ र कार्यशैलीलाई समयानुकूल परिवर्तन गर्दै व्यावसायिक, इमानदार र कर्तव्यनिष्ठ प्रहरीको छवि निर्माण गर्न सबैलाई आ–आफ्नो जिम्मेवारीमा समर्पित भएर काम गर्न निर्देशन दिए । 

अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा सीमित नरहेर नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा देखापर्न सक्ने चुनौतीहरूलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनमा कुनै सम्झौता नगरी कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने कुरा आईजीपी खापुङ्गले स्पष्ट पारे । 

पदोन्नत अधिकृतहरूको तर्फबाट प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले संगठनले गरेका अपेक्षा, भरोसा र विश्वासलाई कायम राख्दै नेपाल प्रहरीको गौरव र प्रतिष्ठा उच्च बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूसहित प्रहरी जवानहरूको उपस्थिति रहेको थियो। समारोहमा सहभागी अधिकृतहरूले पदोन्नति प्राप्त अधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार