बेलबारीमा इभी गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु, इटहरीका पुरी पक्राउ

शनिबार, १९ पुस २०८२

इटहरी । मोरङको बेलबारी नगरपालिका–११, लक्ष्मी मार्ग चोकस्थित पूर्व पश्चिम राजमार्गमा हिजो (शुक्रवार) साँझ भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ। साँझ करिब ७ः३० बजे  पूर्वबाट पश्चिमतर्फ आइरहेको बागमती प्रदेश–०१–००६ ख ७०७६ नम्बरको (इलेक्ट्रिक) इभी गाडीले ठक्कर दिँदा बेलबारी नगरपालिका–११ बस्ने करिब ५५ वर्षीय सुक बहादुर धिमाल गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि घाइते धिमाललाई उपचारका लागि तत्काल कोशी अस्पताल विराटनगर लगिएको थियो। 

तर, राति करिब ८ः०५ बजे चिकित्सकहरूले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको छ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी डागीहाटबाट पुगेको संयुक्त टोलीले सवारी साधन नियन्त्रणमा लिएको छ। 

सोही गाडीका चालक सुनसरी, इटहरी उपमहानगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त पुरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार