काठमाडौँ : विशेष महाधिवेशन गर्ने तयारीमा जुटेका नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र क्रमशः एक्लिँदै गएका छन् ।
संस्थापन पक्षले १५औँ महाधिवेशन वैशाखमा गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन गरेर नयाँ नीति र नयाँ नेतृत्वसहित जनतामाझ जानुपर्ने अडानमा रहेका इतर समूहका डा. शेखर कोइरालासहितका नेताहरूले समेत पार्टीको निर्णय स्वीकार गरेका छन् । यससँगै पार्टीभित्र गगन–विश्वले अघि सारेको विशेष महाधिवेशनको एजेन्डा कमजोर बन्दै गएको छ ।
शुक्रवार केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा १५औँ महाधिवेशन वैशाख २७ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेपछि काङ्ग्रेसभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाखमै महाधिवेशन गर्ने निर्णय गराएका थिए ।
तर उक्त निर्णयप्रति महामन्त्रीद्वयसहित पाँच जना नेताहरूले फरक मत राखेका छन् । बहुमतको निर्णय अस्वीकार गर्दै महामन्त्री थापाले केही दिनभित्र विशेष महाधिवेशन आह्वान गर्ने अडान नछाडेको बताएका छन् । विशेष महाधिवेशनका लागि आवश्यक दस्ताबेज लेखनमा समेत नेताहरू जुटिसकेको बताइएको छ ।
विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्दै विशेष महाधिवेशन पक्षधर नेताहरू कानुनी परामर्शमा जुटेका छन् । शनिवार महामन्त्रीद्वय गगन–विश्वप्रकाशले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का पदाधिकारी तथा कानुन व्यवसायीहरूसँग पछिल्लो पटक परामर्श लिएका छन् ।
काँग्रेस विधानको धारा १७ (२) मा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने’ व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार विशेष महाधिवेशनलाई औचित्यहीन बनाउन नसकिने सुझाव दिएको डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
तर संस्थापन इतर समूहका नेता डा. कोइरालाले शनिवार बिहान आफ्ना पक्षका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिसहित काठमाडौँमा उपलब्ध नेताहरूसँग परामर्श गरी विशेष महाधिवेशनमा सहभागी नहुने स्पष्ट सन्देश दिएका छन् । छलफलका क्रममा उनले निर्वाचनअघि नियमित महाधिवेशनको अडान राखे पनि पार्टीका जिम्मेवार नेताहरूको भूमिकाकै कारण त्यो सम्भव नभएको टिप्पणी गरे ।
‘मेरो एजेन्डा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘तर बहुमतको निर्णय नमानेर जान मिलेन । विशेष महाधिवेशनको माग गर्ने साथीहरूको भावनाको सम्मान गर्दै पार्टीलाई एकढिक्का राख्न म त्यो कित्तामा उभिन सकिनँ ।’
निर्वाचनमा एक भएर जानुपर्ने बेला पार्टी विभाजनको बाटोमा जान नहुने भन्दै उनले विभिन्न तहका नेताहरूसँग संवाद तीव्र बनाएका छन् । केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशनमा गए पार्टीमा विग्रह आउने उनको दाबी छ ।
१४औँ महाधिवेशनमा कोइरालाकै नेतृत्वमा टिम बनाएर महामन्त्री बनेका गगन थापाले कोइरालाको साथ पाइने अपेक्षा गरेका थिए । तर पछिल्लो समय दुवैबीच दूरी बढ्दै गएको छ । कोइरालासँग परामर्श नगरी विशेष महाधिवेशनको एजेन्डा अघि बढाएका थापाले १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
संस्थापन इतर टिमबाट डा. कोइरालालाई नै सभापतिको निर्विकल्प उम्मेदवार बनाउने तयारी भइरहेको छ । यसले कोइराला र थापाबीच सहकार्यभन्दा प्रतिस्पर्धा बढ्ने सङ्केत देखिएको छ । यद्यपि केही नेताहरूले शेखर–गगनलाई सँगै राख्ने प्रयास जारी राखेका छन् ।
सहमहामन्त्री बद्री पाण्डेले शेखर–गगन एकै ठाउँ उभिए मात्र पार्टी रूपान्तरणको धारमा जाने बताए । ‘१४औँ महाधिवेशनका नेता शेखर कोइराला र महामन्त्री गगन थापा १५औँ महाधिवेशनमा पनि सँगै हुनुपर्छ भन्ने सुझाव हामीले दिएका छौँ,’ उनले मध्यान्हसँग भने ।
तर विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार अहिले टिम निर्माणभन्दा पनि पार्टीलाई विधानसम्मत दिशामा लैजानु मुख्य विषय हो ।
१४औँ महाधिवेशनमा मतदान गरेका ४७ सय ४३ जनामध्ये ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका छन् । असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत दर्ता गरिएको निवेदनअनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्था छ ।
तर संस्थापन इतर समूहका नेताहरूले मङ्सिर १५ गते केन्द्रीय समितिले नियमित महाधिवेशनको निर्णय गरिसकेको भन्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गरेका छन् ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीका संरचनाहरू अहिले नियमित महाधिवेशनकै प्रक्रियाअन्तर्गत क्रियाशील सदस्यता नवीकरण र वितरणमा सक्रिय रहेको बताए ।
केन्द्रीय समितिको निर्णयअनुसार पुस २६–२९ मा नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वयले सोही मितिमा विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन् । तर शेखर कोइरालाको असहयोगका कारण कोरम पुर्याउने चुनौती बढ्दै गएको छ ।
शेखर–गगन समूहबाट सहमहामन्त्री बनेका जीवन परियारले पार्टीको आधिकारिक निर्णयविपरीत जान नसकिने बताए । विशेष महाधिवेशन गर्ने अडान व्यक्तिगत मत मात्र भएको उनको दाबी छ । ‘पार्टी कुनै व्यक्तिगत कम्पनी होइन,’ उनले टिप्पणी गरे ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर १५ गते ल्याइएको नियमित महाधिवेशनको कार्यतालिका समय अभावका कारण कार्यान्वयन हुन नसकेको बताए । ‘अहिले पनि हामी १५औँ महाधिवेशनको प्रक्रियामै छौँ, त्यसैले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ,’ उनले भने ।
सभापति देउवा पक्षले निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने रणनीति बनाएको आरोप लागिरहेका बेला महामन्त्री थापा पक्षले निर्वाचनअघि नै नयाँ नेतृत्वसहित चुनावमा जाने अडान दोहोर्याएका छन् ।
पछिल्लो समय सभापति र महामन्त्री पक्षबिचको तनाव बढ्दै गए पनि पार्टीलाई एकताबद्ध राखेर निर्वाचनमा जाने वातावरण बनाउन संवादलाई तीव्र बनाइएको महामन्त्रीद्वयको भनाइ छ ।‘नेतृत्व को हुन्छ भन्नेभन्दा पार्टीको अस्तित्व र पद्धति महत्त्वपूर्ण हो,’ उनीहरूको निष्कर्ष छ ।
प्रतिक्रिया