विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने दरार आउँछ : गुरु बराल

सोमबार, २१ पुस २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशन व्यवहारिक नभएकाले नै नियमित महाधिवेशनको कार्यतालिका संशोधन भएर आएको बताएका छन् ।

उनले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आगामी १५ औं महाधिवेशनलाई उत्सव, एकता र विजयीका रुपमा लिनुपर्ने वताउँदै नियमित महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

१५औं महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसक्नुपर्ने भएपनि कार्य ढिलाई एवम सदस्यता व्यवस्थापनको समयमा नसक्दा नियमित प्रक्रिया केही पर सरेको उल्लेख गर्दै बरालले बैशाखमा जसरी भएपनि महाधिवेशन सम्पन्न गर्नुपर्ने औंल्याए ।

‘आसन्न निर्वाचन अर्थात राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरेर माघको पहिलो हप्ताभित्र सम्पूर्ण सदस्यताहरुको व्यवस्थापन गर्नुपर्छ । त्यसपछि बैशाखको अन्तिममा १५औ महाधिवेशन गर्ने कार्यतालिका जुन छ त्यसमा युद्धस्तरमा जुट्नुपर्छ,’ उनले अगाडि भने,‘विशेषका लागि हस्ताक्षर गरेका साथीहरुलाई पनि सम्मान हुनेगरी तालिका आएको छ । एक वर्ष कार्यकाल थप्ने व्यवस्था भएपनि उठेका जायज मागलाई मध्यनजर गरेर सर्वसम्मत रुपमा पुषको अन्तिम साताको कार्यतालिका ल्याएका थियौं तर पार्टीका महामन्त्रीहरुले अहोरात्र खट्दापनि सदस्यता व्यवस्थापनको काम सकिएन् । जिल्ला जिल्लाबाट वडा वडाबाट सदस्यता नयाँ र पूराना सदस्यहरु नवीकरण गर्ने काम पूरा गर्न सकिएन । यो केन्द्रीय समितिको कमजोरी मात्रै होइन तल्लो तहमा पनि छिटो भन्दा छिटो यो सदस्यता काम सकाऔं भन्ने तदारुपता अलि कमजोर देखियो । तर अब तदारुकताका साथ काम गर्नुपर्ने बेला आएको छ ।’

कांग्रेस कमजोर भए देश कमजोर

केन्द्रीय सदस्य बरालले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुले देशलाई मध्यनजर राख्न सुझाव दिंदै उनले भने,‘यतिबेला एक मतका साथ अत्यन्तै संयमित भएर कांग्रेस बलियो र एकताबद्ध बनाउने अभियानका रुपमा १५ औं महाधिवेशनलाई लिनुहोला । हामीले कार्यकाल पूरा गरिसकेका छौं, निर्वाचनको पूर्वसन्ध्यामा छौं । यदि कांग्रेस कमजोर भएर गयो भने देशलाई परिणाम दिन सक्दैन । डिरेल भएको राजनीतिक प्रोसेस छ, यसलाई लिकमा ल्याउन सकिन्न । त्यसैले सबैजना संयमित हुन जरुरी छ ।’

नियमित महाधिवेशनलाई उल्लासका साथ पर्वका रुपमा र मुलुकलाई एउटा गति दिने आन्दोलनका रुपमा लिएर जानका लागि जरुरी रहेको उनले औंल्याए । विशेष मागकर्ताहरुको भावनाको सम्मान गर्दै सबै वर्ग र समूदायको अम्रेला बनेर कांग्रेस नेतृत्वले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

‘विशेषका लागि होस या नियमितका लागि होस महाधिवेशनको माग गरेका सबै साथीहरुले वर्षौं दुःख गर्नुभएको छ । पुस्तौ पुस्ता लगानी गरेका साथीहरु हुनुहुन्छ । उहाँहरुको मतलाई सम्मान गर्दै हालको कार्यतालिका अनुसार अहोरात्र खटेर काम गर्नुपर्छ,’ उनको भनाइ छ ।

विशेष महाधिवेशनको प्रक्रिया लामो

आपुर्ती तथा उपभोक्ता विभागका प्रमुख समेत रहेका बरालले विशेष महाधिवेशनको प्रक्रिया लामो रहेको पनि अर्थाए । ‘विशेष महाधिवेशनको प्रक्रियामा जाँदाखेरि धेरै लामो प्रोसेस छ । केन्द्रीय समितिले नियमावली वा निर्देशिका वनाउनुपर्छ । विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरुको हस्ताक्षर सनाखत गर्न जरुरी छ । त्यो सबै गर्दा तीन चार महिना अरु लम्बिन्छ । त्यसले पार्टी भित्र दरार पैदा गर्छ भन्ने हाम्रो मत हो । त्यसैले त्यतातिर जानु उपयुक्त हुँदैन्,’ उनले भने ।

यतिबेला लोकतन्त्र र संविधान एकदमै ठुलो अप्ठ्यारोमा रहेको उल्लेख गर्दै उनले निर्वाचनको तयारी पनि थाल्नुपर्ने बताए । ‘यतिबेलाको सबै अप्ठ्यारोलाई टार्ने भनेको निर्वाचित प्रतिनिधि सभाले मात्रै हो । हामी निर्वाचनको मुखमा छौ । अहिले पार्टीको जे जस्तो अवस्था छ यसलाई एकछिन विर्सिएर एक मतका साथ निर्वाचनलाई सफल बनाउनु जरुरी छ । निर्वाचनलाई सफल बनाइसकेपछि त्यसपछि हाम्रो आन्तरिक जीवनलाई व्यवस्थापन गर्दै जानुपर्छ ।’

कार्यवाहक सभापतिको भूमिका

नेपाली कांग्रेसलाई निकास दिने सवालमा पार्टी सभापति शेर वहादुर देउवाले अभिभावकको भूमिका निर्वाह गर्दै कार्यवाहकका रुपमा पूर्ण वहादुर खड्कालाई जिम्मेवारी दिएकाले खड्काको सक्रियतालाई सम्मान गर्नुपर्ने उनको मत छ ।

‘विशेष महाधिवेशनका साथीहरुले नेतृत्व परिवर्तनका कुरा गर्नुभएको छ । त्यो परिवर्तनको मागलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका सभापतिले कार्यवाहक दिइसक्नु भएको छ । वरिष्ठ उपसभापति पूर्ण बहादुर खड्काको भूमिका सँधै सम्मानयोग्य बनेको इतिहास छ । पञ्चायत कालमा पनि उहाँ पार्टीको पोलिसी अनुसार सुर्खेत बिरेन्द्र नगर प्रमुख लड्नुभयो । प्रमुख जितेर सपथ खाएकै दिन गिरफ्तार हुनुभयो । त्यसपछि अनवरत निर्वाचित हुनुहुन्छ, एकचोटी भन्दा बाहेक । उहाँ मेयरदेखि उपप्रधानमन्त्रीसम्म बन्नुभयो । उहाँ सफेद हुनुहुन्छ । दाग नलाउने ठाउँमा हुनुहुन्छ र अनुभवले निकै खारिएको हुनुहुन्छ । त्यसैले उहाँलाई उपयोग गरेर निर्वाचनमा जानुपर्छ । अब मत मतान्तर गरेर धेरै दन्त बजान गरेर झन् मुलुकलाई अप्ठ्यारोमा पार्नुहुँदैन्,’ उनले भने ।

नेपालको लोकतन्त्र अफ्ठयारो अवस्थामा रहेकाले विदेशीहरुको कुचक्र र षड्यन्त्रमा मुलुक फस्न सक्ने भएकाले पार्टीभित्र एकता जरुरी रहेको उनले बताए ।

रिफ्रेसमेन्ट चाहिएको छ

नेता बरालले कांग्रेसको माथिल्लोदेखि तल्लो तहसम्मको संरचनालाई पुनर्ताजगी चाहिएको पनि औंल्याए । ‘हाम्रो पार्टीको आठ वटा तह छन् । वडामा पनि हामीले टोल समिति बनाउने गरेका छौं । वडा समिति छ, प्रदेश सभा, पालिका समितिहरु छन्, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, केन्द्रीय समिति आदी गरेर आठ तह छन् । तिनीहरुलाई रिफ्रेसमेन्ट चाहिएको छ । आठै तहमा नेतृत्वको पुनर्ताजगी चाहिएको छ,’ उनले अगाडि भने,‘कतिपय ठाउँमा नयाँ समिति बन्ला, कतिपय ठाउँमा दोहोरिएला तर सबैतिर रुपान्तरण चाहिएको छ ।’

निर्वाचनमा जाँदा पनि खाली पूराना प्रतिनिधिहरुबाट नेतृत्व फेरेर जाँदा अपेक्षा पूरान नहुने भन्दै उनले सबै तहमा पुनर्ताजगी खोजिएको औंल्याएका हुन् । त्यसैले १५औं महाधिवेशनमा सबै तहका साथीहरु अत्यन्त इमान्दार भएर मित्रवत रुपमा हार्दिकतापूर्ण तरिकाले एवम सशक्त र प्रभावकारी कांग्रेस बनाउन लाग्नुपर्ने उनले बताए ।

देशमा डिरेल भएको पोलिटिकल अवस्थालाई लिकमा ल्याउनलाई कांग्रेसभित्रै रुपान्तरण आवश्यक भएको बताएका हुन् । निर्वाचन अघि महाधिवेशन गर्दा पर्ने असरका बारेमा पनि गहिरो विश्लेषण जरुरी रहेको उनको भनाइ थियो ।

दुधे वालक जस्तो नगरौं

विशेष महाधिवेशन पक्षधरहरुले भृकुटीमण्डपमा हल बुकिङ गरेको प्रसंगमा केन्द्रीय सदस्य बरालले यस्तो गतिविधि दुधे वालक वा मलाई त्यही केटी चाहिन्छ भनेजस्तो भएको व्यंग्य गरे ।

‘जसरी पनि विशेष महाधिवेशन हुनैपर्छ, हल बुकिङ गरिसक्यौं भन्ने किसिमका समाचारहरु मिडियामार्फत थाहा पायौं । यो त दुधे बालक वा मलाई यही केटी चाहियो भने जस्तो भयो । त्यसरी देश पनि चल्दैन पार्टी पनि चल्दैन । नेपालको अहिलेको विषम राजनीतिक परिस्थितिलाई नेतृत्वदायी भूमिका र अभिभावकत्व पनि पूरा हुँदैन । त्यसैले मस्तिस्कमा समझदारी र काँधमा जिम्मेवारीका साथ अगाडि बढ्न सक्नुपर्छ । यसो गर्न सकियो भने नेशन वा पार्टीलाई गति दिन सकिन्छ,’ उनले भने ।

देश पपुलिजमले गाँज्यो

पछिल्लो राजनीतिक घट्नाक्रमपछि नयाँ दलहरुको उदयले पूराना दलहरुलाई चुनौति थपिएको प्रसंगमा नेता बरालले दल खुल्ने र टुट्नेक्रम प्रजातान्त्रिक प्रक्रिया मात्र भएको औंल्याए ।

‘नयाँ दल खुल्दा हामी चिन्ताबाट धेरै ग्रसित छैनौं । बरु व्यक्तिगत रुपमा म खुशी छु । किनभने दलहरु खोल्ने, जुट्ने, टुट्ने वा एक आपसमा बिलय हुने डेमोक्रेसीको एउटा पक्ष हो । डेमोक्रेटिक नम्र्स र भ्यालुज भित्र रहेर पार्टीहरु खोल्ने, मिल्ने, प्रतिस्पर्धा गर्ने कुरालाई सकारात्मक लिनुपर्छ,’ उनले अगाडि भने,‘ चिन्ता र दुःखको विषय के हो भने अहिले मुलुक पपुलिजमको नाराले पुरै गाँजेको छ । पपुलिजमको नाराले सिंहदरबारदेखि वडा कार्यालय सम्म, अदालतदेखि संसद भवनसम्म जलायो । निजी सम्पत्तिहरु तहसनहस गरेर खरानी पारिदियो । मुलुकमा उद्योगधन्दा, व्यवसाय, रोजगारका अवसरहरु खोल्नका लागि ठूलो दरार पैदा गरेको छ । त्यसकै जगमा उभिएर जो नयाँ साथीहरु आउनुभएको छ । तर त्यही पपुलिजमको नाराले मुलुकलाई अरु धेरै क्षति नपारोस भन्न चाहन्छु ।’

इतिहासका दृष्टान्तको विश्लेषण

विशेष महाधिवेशन अभियानकर्ता महामन्त्रीद्वयले इतिहासका दृष्टान्तहरुलाई गहिरो विश्लेषण गरेर अगाडि बढ्नुपर्ने नेता बरालको सुझाव छ ।
‘उहाँहरुलाई पनि के निवेदन गर्न सक्छु भने सग्लो कांग्रेस, सशक्त कांग्रेस, प्रभावकारी कांग्रेसले मात्रै मुलुकमाथि रचिएका बितण्डा र कुचक्रहरु चिर्न सक्छ । एउटा पुरानो दृष्टान्तको स्मरण गर्दा ०५९ सालमा कांग्रेस विभाजित हुँदा घोषित निर्वाचन पनि हुन सकेन र प्रजातान्त्रिक व्यवस्था पनि विस्थापित भयो । व्यवस्था पुनःप्राप्तीका लागि वा जनअधिकार प्राप्तीका लागि हामीले ठुलो कुर्वानी गर्नुपर्यो । धेरै ठुलो आन्दोलन गर्नुपर्यो । अहिले पनि ठ्याक्कै अवस्था त्यस्तै हुने हो कि भन्ने संन्त्रास छ । विभाजनका रेखाहरु कोरेर जाने हो भने व्यवस्था मात्रै होइन पपुलिजमको नाराले मुलुक थप आक्रान्त बन्नसक्छ,’ उनले अगाडि भने, ‘देशमा अस्थिरता, अशान्त र विदेशी कुचक्रहरु मडारिएको बेला राजनीतिक, भौगोलिक, सार्वभौमिक छितिजमा धेरै काला बादलहरु मडारिएको र विदेशीहरु नाचेको अवस्था भएकाले संयमित हुन जरुरी छ । यस्तो बेला हामी अर्नगल कुरामा लाग्यौं भने वा आन्तरिक झगडामा फस्यौं भने मुलुकलाई गति दिन सक्दैनौ । देश विदेशीको फन्दामा पर्नसक्छ । त्यसैले पूर्वाग्रहबाट पछि हटेर पार्टीका लागि डेमोक्रेसीका नेसनका लागि एक ठाउँमा उभिने बेला भएको छ । घोषित १५औ महाधिवेशनलाई एकता महाधिवेशन उत्सवको रुपमा पर्वको रुपमा विजयको रुपमा लिएर जान सकौं ।’

गठनवन्धन असम्भव

आगामी निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन हुने कुरा सामान्य नभएको उनको बझाइ छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन भएपनि त्यसपछिका निर्वाचनमा गठबन्धन गर्न नहुने उनको तर्क छ ।

‘फागुन २१ को निर्वाचनमा कहिँ कतै गठबन्धनका सम्भावनाहरु देखिएका छैनन्। र हँुदैन भन्ने कुरामा विश्वस्त छु । तर राष्ट्रिय चुनौती के छ भने अहिले नयाँका नाममा आउनेहरु नेपालको राजनीतिक स्थिरताका लागि र राष्ट्रियताका लागि खतरा देखिएका छन् । त्यसैल अब मित्रवत प्रतिस्पर्धा गरौं । सार्वभौमिकता जोगाऔं । कुनै बादका नाममा, कुनै आइएनजीओका नाममा, कुनै थर्ड कन्ट्रीका प्रतिनिधिका नाममा देशमा बादल मडारिएको छ । त्यो बादल चिर्नका लागि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । यही माटोले जन्माएका, यही माटोमा लडेका शक्तिहरु एक ठाउँमा उभिन जरुरी छ । मित्रवत प्रतिस्पर्धा गरौं र राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।

कांग्रेस आवधिक निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक र मुलुकको जेठो एवम अभिभावक पार्टी भएकाले राजनीतिक अस्थिरता चिर्नुपर्ने उनको भनाइ छ ।

निर्वाचन र महाधिवेशनको तयारी सँगसँगै

नेता बरालले हालको अन्तरिम सरकार र संसद विघटन असंवैधानिक रहेको दावी पनि गरे । तर विषम राजनीति परिस्थितिलाई लयमा ल्याउन निर्वाचनमा जानुपर्ने उनको भनाइ छ ।

‘हामी अरु दलले भन्दा निर्वाचनको तयारी एक कदम अगाडी गरेका छौं । उम्मेदवार तय गर्ने अभियान जारी छ । तर सरकारका गतिविधि, सुरक्षाको अवस्था सन्तोषजनक छैन् । जेलबाट भागेका अपराधीहरू अहिले पनि बाहिर छन् । अहिलेका नवसुधारवादीहरूको ताण्डव नृत्यबाट लुटिएका सुरक्षा निकायका हतियार वा औजार र ड्रेसहरु वाहिर छन् । सुरक्षाको स्थिति राम्रो छैन् । संविधानले छ महिना भन्दा बढी ठुलो रिक्तता कल्पना गरेको छैन । सुशीला कार्कीलाई फागुन २२ गते निर्वाचन गर्ने कुनै अधिकार छैन् । त्यसैले पूरानो प्रतिनिधि सभालाई पुनःस्थापित गरेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर अगाडि बढ्नसक्ने आधारहरु पनि देखिएका छन्,’ उनले अगाडि भने,‘ त्यसैले अब जेनजीहरुको भावनालाई पनि प्रतिनिधित्व गर्दै संविधान संशोधन गरेर नयाँ अध्यायमा प्रवेश गर्नुपर्छ । त्यसका लागि कांग्रेसको पहिलो प्राथमिकता भनेको निर्वाचन नै हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार