काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउनुपर्ने अभिव्यक्ति दिएपछि सोमबार अन्तर्राष्ट्रिय स्तरमा त्यसको तीव्र निन्दा भएको छ।
ग्रिनल्याण्डजस्तो खनिज–सम्पन्न आर्कटिक क्षेत्रबारे अमेरिकाले चासो देखाउँदै आएको पृष्ठभूमिमा ट्रम्पको पछिल्लो अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आइतबार राति एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ग्रिनल्याण्ड अमेरिकालाई आवश्यक रहेको बताए।
“हामीलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको छ । डेनमार्कले त्यो गर्न सक्दैन,” ट्रम्पले भनेको बताइएको छ।
दुर्लभ खनिजले भरिएको ग्रिनल्याण्ड ध्रुवीय हिउँ पग्लँदै जाँदा खुल्ने नयाँ ढुवानी मार्गका कारण रणनीतिक रूपमा अझ महत्वपूर्ण बन्दै गएको बताइएको छ। ग्रिनल्याण्ड रुस र अमेरिकाबीचको क्षेप्यास्त्र मार्गको छोटो दूरीमा पर्ने तथा त्यहाँ अमेरिकाको सैन्य आधार पहिल्यै रहेको उल्लेख गरिएको छ।
ट्रम्पले आगामी केही हप्ताभित्र ग्रिनल्याण्डबारे थप छलफल हुने बताउँदै दुई महिनाभित्र अमेरिकाको चासो सम्बोधन गरिने दाबी गरेको जनाइएको छ।
यसबीच, ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सामाजिक सञ्जालमार्फत अमेरिकालाई कडा सन्देश दिएका छन्।
“अब अति भयो । कुनै दबाब स्वीकार्य छैन । विलयको कल्पना पनि हुन सक्दैन,” उनले बताएका छन्।
प्रधानमन्त्री निल्सनले भने, ग्रिनल्याण्ड वार्ताका लागि खुला भए पनि अन्तर्राष्ट्रिय कानुन र उचित कूटनीतिक च्यानलको सम्मान हुनुपर्ने स्पष्ट पारे।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि अमेरिकालाई आफ्नो परम्परागत साझेदारमाथि धम्की नदिन आग्रह गरेकी छन्। सोमबार युरोपेली संघ (इयू) र अन्य युरोपेली मुलुकहरूले कोपेनहेगनको समर्थन जनाएका छन्।
युरोपेली सङ्घकी विदेश नीतिसम्बन्धी प्रवक्ता अनिता हिप्परले इयू आफ्ना सदस्य राष्ट्रहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्न प्रतिबद्ध रहेको जानकारी दिइन्।
त्यस्तै, बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ग्रिनल्याण्ड र डेनमार्क अधिराज्यले मात्रै उक्त क्षेत्रको भविष्य तय गर्न सक्ने बताएका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै चीनको विदेश मन्त्रालयले अमेरिकालाई तथाकथित चिनियाँ खतरा देखाएर व्यक्तिगत स्वार्थ पूरा नगर्न आग्रह गरेको छ। युरोपभरिबाट आएका केही प्रतिक्रियाले चीनको भनाइलाई समेत समर्थन गरेको बताइएको छ।
ग्रिनल्याण्डलाई लिएर अमेरिकाबाट आएको चेतावनीले विश्व राजनीतिमा नयाँ तनाव सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया