झापा महिला गोल्डकप : सङ्कटा फुटबल क्लबसँग घरेलु टोली ६–० ले पराजित

बुधबार, १९ कार्तिक २०८२

झापा : झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली झापा एफसीलाई संकटा फुटबल क्लबले एकतर्फी खेलमा ६–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

तेस्रो क्वार्टरफाइनलअन्तर्गत बुधबार सम्पन्न खेलमा संकटा क्लबले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै झापा एफसीलाई दबाबमा राखेको थियो । खेलको २३ औँ मिनेटमा राष्ट्रिय खेलाडी पूर्णिमा राईको क्रसमा सेनु परियारले पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाइन् । पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको पासमा समिक्षा मगरले गोल गर्दै अन्तर २–० बनाइन् ।

दोस्रो हाफमा पनि संकटा हावी रह्यो । ५५ औँ मिनेटमा भुटानकी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गरिन् । त्यसपछि ६१ औँ मिनेटमा पूर्णिमाकै गोलले टोलीलाई ४–० को स्थितिमा पुर्‍यायो । अन्तिम समयसम्म आक्रमण जारी राखेको संकटाका लागि ८३ औँ मिनेटमा रेनिसा शर्माले गोल थपिन् भने अन्तिम मिनेटमा वैकल्पिक खेलाडी अरुणा स्याङतेनले गोल गर्दै नतिजा ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले पुरस्कारस्वरूप १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।

खेलपछि झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए । संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने खेलाडीहरूले रणनीतिअनुसार उत्कृष्ट प्रदर्शन गरेको बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार