काठमाडौँ । पश्चिम नवलपरासीमा केही दिनयता बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण व्यावसायिक रूपमा पालिएका माछाहरू मर्न थालेका छन्। तापक्रममा आएको भारी गिरावटले पोखरीको पानी धेरै चिसो भएपछि माछापालक किसानहरू ठूलो नोक्सानी व्यहोर्न बाध्य भएका हुन्।
पाल्हीनन्दन गाउँपालिका–४ का कृष्णबहादुर सहानीले १० वर्षदेखि ६ बिघा जग्गामा व्यावसायिक माछापालन गर्दै आए पनि यसपटकको चिसोबाट माछा जोगाउन नसकेको दुखेसो पोख्नुभयो। उहाँका अनुसार लामो समयसम्म घाम नलाग्ने र शीतलहर चल्ने गर्दा पोखरीको पानीको तापक्रम निकै घटेको छ, जसका कारण माछाले दाना खान छोडेका छन् र विस्तारै मर्न थालेका छन्।
त्यसैगरी, प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवको पीडा पनि उस्तै छ। १६ बिघा क्षेत्रफलमा माछापालन गर्दै आउनुभएका यादवले चिसोका कारण आफ्नो पोखरीका करिब २० क्विन्टल 'बैखी' जातका माछा मरेको जानकारी दिनुभयो। तराई क्षेत्रमा जमेको कुहिरो र चिसो हावाले पानीको सतहमा अक्सिजनको कमी हुनुका साथै तापक्रम सन्तुलन बिग्रँदा यस्तो समस्या देखिएको हो।
अत्यधिक चिसोका कारण माछाको वृद्धि विकास रोकिने र रोगको संक्रमण बढ्ने जोखिम हुने भन्दै विज्ञहरूले पोखरीमा पानीको सतह बढाउन र चुना वा पोटास जस्ता रसायनको प्रयोग गरी पानीको गुणस्तर कायम राख्न सुझाव दिएका छन्। तर, लगातारको प्रतिकूल मौसमले गर्दा नवलपरासीका माछापालक किसानहरू अहिले चिन्तित बनेका छन्।
प्रतिक्रिया