बिर्तामोडबाट ब्राउन सुगरसहित राजवंशी पक्राउ

मंगलबार, २२ पुस २०८२

झापा : झापाको बिर्तामोड नगरपालिका–१ सुर्यनगर टोलस्थित काली मन्दिर नजिकबाट लागूऔषध कारोबारमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छापामा सोही स्थानका ४० वर्षीय अजय राजवंशीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले राजवंशीको घरको कोठा खानतलासी गर्दा प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार खानतलासीका क्रममा राजवंशीको साथबाट नेपाली नगद दुई लाख ६७ हजार रुपैयाँ, भारतीय नगद २९ हजार ५०० रुपैयाँ, एक थान डिजिटल तराजु, एक थान कैँची, एक थान चक्कु र दुई थान मोबाइल फोनसमेत फेला परेको छ।

बरामद लागूऔषध तथा सामग्रीसहित राजवंशीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार