युरोपभर हिउँ–बरफको कहर, जनजीवन अस्तव्यस्त

मंगलबार, २२ पुस २०८२

काठमाडौं : हिउँ, बरफ र अत्यधिक चिसोका कारण मंगलबार युरोपका विभिन्न देशहरू गम्भीर रूपमा प्रभावित भएका छन्। खराब मौसमका कारण फ्रान्समा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने युरोपका व्यस्त विमानस्थलहरूमध्ये एकबाट सयौँ उडान रद्द गरिएका छन्। सडक, रेल र हवाई यातायात अवरुद्ध हुँदा सामान्य जनजीवन अस्तव्यस्त बनेको छ।

फ्रान्सको दक्षिणपश्चिमी ल्यान्डेस क्षेत्रमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। पेरिस वरपरको इले–डे–फ्रान्स क्षेत्रमा पनि कम्तीमा दुई जनाको ज्यान गएको छ। सोमबार भारी हिमपातपछि ठूलो ट्राफिक जाम सिर्जना भएपछि अधिकारीहरूले सडकबाट ट्रकहरू हटाउन आदेश दिएका थिए। मंगलबार बिहान पेरिसका छाना र ऐतिहासिक स्थलहरू हिउँले ढाकिएका देखिएका छन्। भारी हिमपातका कारण उत्तर र पश्चिम फ्रान्सका छ वटा विमानस्थल बन्द गरिएका छन् भने विद्यालयहरू पनि बन्द हुँदा यात्रुहरू थप समस्यामा परेका छन्।

नेदरल्यान्ड्समा पनि खराब मौसमको असर तीव्र देखिएको छ। एम्स्टर्डमको सिफोल विमानस्थलबाट करिब ४ सय उडान रद्द भएको जनाइएको छ। रनवे सफा गर्न र विमान डि–आइस गर्न ढिलाइ हुँदा सोमबार पनि सयौँ उडान प्रभावित भएका थिए। राष्ट्रिय रेलवे कम्पनी एनएसले सीमित सेवा मात्र सञ्चालन भएको र अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

इटालीको रोममा निरन्तर वर्षाका कारण टाइबर नदीमा पानीको सतह बढेको छ। जोखिम बढेपछि मेयर रोबर्टो गुअल्तेरीले पार्क र जोखिमयुक्त क्षेत्रहरूमा सार्वजनिक पहुँच सीमित गर्न आदेश जारी गर्नुभएको छ। यसकै कारण पोप लियो चौधौँको एपिफेनी आशीर्वाद कार्यक्रममा सीमित श्रद्धालु मात्र सहभागी भएका छन्। उत्तर इटालीको बोलोग्ना क्षेत्र हिउँले ढाकिएको छ भने डोलोमाइट्स क्षेत्रमा स्कीइङका लागि अनुकूल अवस्था बनेको जनाइएको छ।

बेलायतको उत्तरी भागमा चिसो अत्यधिक बढेको छ। रातको तापक्रम माइनस १२.५ डिग्री सेल्सियससम्म झरेको छ। हिउँ र बरफका कारण रेल, सडक र हवाई सेवा प्रभावित हुँदा सयौँ विद्यालय बन्द गरिएका छन्। खेलकुद कार्यक्रमहरू रद्द भएका छन् भने ग्लासगोको सबवे र लिभरपुलको जोन लेनन विमानस्थल केही समयका लागि बन्द गरिएको थियो। उत्तर स्कटल्यान्डमा थप १५ सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ।

बाल्कन क्षेत्रका बोस्निया, सर्बिया र आसपासका देशहरू पनि खराब मौसमबाट प्रभावित भएका छन्। भारी हिउँ र वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको, यातायात अवरुद्ध भएको र विद्युत् तथा खानेपानी आपूर्तिमा समस्या आएको जनाइएको छ। सारायेभोमा हिउँले ढाकिएको रूखको हाँगा खस्दा एक महिलाको मृत्यु भएको छ। सर्बियाका केही नगरपालिकामा आपतकालीन अवस्था घोषणा गरिएको छ।

यता, एड्रियाटिक तटीय क्षेत्रमा तीव्र हावा र आँधीबेहरीका कारण क्षति पुगेको छ। क्रोएसिया र मोन्टेनेग्रोका तटीय क्षेत्रमा समुद्री छाल किनारका संरचनासम्म पसेको दृश्य सार्वजनिक भएका छन्।

समग्रमा, युरोपभर फैलिएको हिउँ, बरफ र खराब मौसमले जनजीवन, यातायात र पूर्वाधारमा गम्भीर असर पारेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार