जेन–जी आन्दोलनको क्रममा लुटिएको प्रहरी हतियार झापामा फेला परेको छ । जिल्ला झापा विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिकको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा इन्सास हतियार फेला परेको प्रहरीले जनाएको छ ।
जेन–जी आन्दोलनको दोस्रो दिन इटहरीस्थित इलाका प्रहरी कार्यालय अनारमनिबाट उक्त हतियार लुटिएको थियो । फेला परेको हतियारसँगै एक थान म्याग्जिन, १९ राउण्ड सावुत र २ राउण्ड बेसावुत गोली पनि भेटिएको प्रहरीले जानकारी दिएको छ । बरामद हतियारलाई हाल इप्रका अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोही घटनामा संलग्न रहेको आरोपमा कैलालीको टिकापुर नगरपालिका–१ निवासी शिवराज धमलालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धमला राइड सेयरिङ व्यवसायमा संलग्न थिए । उनलाई स्वचालित इन्सास र सर्टगनसहित तारकेश्वर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको हो । विशेष प्रहरी टोलीले हतियार खरिदकर्ताको रूपमा उनको सम्पर्कमा पुगेर पेस्तोल खरिद गर्न खोज्ने क्रममा पक्राउ गरेको जनाएको छ ।
प्रहरीले धमलाको कोठाबाट बरामद हतियार भदौ २४ गते आन्दोलनका क्रममा लुटिएको नै रहेको पुष्टि गरेको छ । हतियार लुटपाट र बिक्रीप्रक्रियाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया