प्रदर्शनपछि झडप बढ्दै गएपछि वीरगन्जको मुख्य सहरी क्षेत्रमा निषेधाज्ञा लागू

सोमबार, २१ पुस २०८२

पर्सा : धनुषामा मस्जिद तोडफोडको घटनाको विराेधमा भएको प्रदर्शन उग्रिएपछि पर्सा प्रहरीले वीरगन्जको संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेबाट लागू हुने गरी मुख्य सहरी क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा तोकिएको क्षेत्रभित्र राजनीतिक, सामाजिक तथा धार्मिक समूहको भेला र प्रदर्शनमा कडाइ गरेको उल्लेख छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

निषेधाज्ञा बसपार्कको पूर्व, सिर्सिया पुलको पश्चिम, पावर हाउस चोकको उत्तर र शङ्कराचार्य गेटको दक्षिण क्षेत्रसमेतलाई केन्द्रित राखेर लागू गरिएको प्रशासनले जनाएको छ। यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति थप सशक्त बनाइएको छ।

धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानमा दुई समुदायबीच भएको विवादपछि एक समूहले मस्जिदभित्र प्रवेश गरी तोडफोड गरेको र धार्मिक ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि तनाव फैलिएको थियो। सो घटनाको विरोधमा आइतबार वीरगन्जमा मुस्लिम समुदायले प्रदर्शन गरेका थिए।

त्यसको प्रतिवादस्वरूप सोमबार बिहानदेखि हिन्दुवादी समूहले प्रदर्शन जारी राखेपछि स्थिति थप तनावग्रस्त बनेको हो। प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको र तनाव न्यूनीकरणका लागि निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गर्दै सम्भावित जोखिम घटाउन नागरिकलाई तोकिएको क्षेत्रतर्फ अनावश्यक आवत–जावत नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार