'लिग–२' मा जितविहीन बन्यो नेपाल

बुधबार, १९ कार्तिक २०८२
File Photo

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलामा नेपालले लगातार चौथो हार व्यहोरेको छ । बुधबार सम्पन्न शृंखलाको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । घरेलु टोलीका लागि मुहम्मद शाहदादले ९६ रन र कप्तान मुहम्मद वासीमले ७६ रन बनाए । दुबै खेलाडीले चौथो विकेटका लागि १४७ रनको साझेदारी गर्दै यूएईलाई जितको आधार तयार पारे ।

नेपालका लागि करण केसीले १० ओभरमा ५८ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादवले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो । नेपालका भीम सार्की ४८ रनसहित शीर्ष स्कोरर बने भने कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ र आरिफ शेखले ३० रनको योगदान दिए ।

यूएईका बलर ध्रुव पराशर र जुनेद सिद्दिकीले समान २–२ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट हात पारे भने जाहिद अलीले १ विकेट लिएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा यूएईसँग ५ विकेटले र तेस्रो खेलमा पुनः अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

लिग–२ को अंकतालिकामा अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ । नेपाल २० खेलमा १२ अंकसहित सातौँ स्थानमा छ भने यूएई १० अंकसहित अन्तिम स्थानमा रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार