विराटनगर : राज्यका नीति–निर्माण तहमा अति सीमान्तकृत समुदायको प्रतिनिधित्व अझै अपवादकै रूपमा रहने गरेको अवस्थामा झापाकी रोशनी मेचेको राष्ट्रियसभा सदस्यतर्फको यात्रा आफैंमा राजनीतिक र सामाजिक सन्देश बोकेको छ । नदी किनारमा जीवन बिताउँदै आएको मेचे समुदायबाट उनी राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन् ।
झापाको मेचीनगर–१२ (साविक धाइजन–३०) मा जन्मिएकी रोशनी मेचे हाल कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेकी छन् । झापा जिल्लाका मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल क्षेत्रमा केन्द्रित मेचे समुदाय नेपालका अति सीमान्तकृत समुदायमध्ये पर्दछ । सरकारले यो समुदायलाई मासिक भत्ता प्रदान गर्दै आएको छ, जसले उनीहरूको सामाजिक अवस्थालाई झल्काउँछ ।
त्यही समुदायबाट प्रतिनिधित्व गर्दै रोशनी राज्यको माथिल्लो सदनसम्म पुग्ने ऐतिहासिक अवसर नजिक पुगेकी छन् । कांग्रेस, एमाले र जसपा सम्मिलित बलियो गठबन्धनका कारण उनको निर्वाचन लगभग सुनिश्चित देखिएको छ । उनको सम्भावित विजयलाई केवल राजनीतिक जित मात्र नभई समावेशी प्रतिनिधित्वको उपलब्धिका रूपमा हेरिएको छ ।
रोशनीको पहिचान केवल समुदायमा सीमित छैन । शैक्षिक रूपमा उनी सबल र बहुआयामिक छन् । २०५५ सालमा झापाको बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेकी उनले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तीर्ण गरेकी छन् । २०७४ सालमा अधिवक्ता लाइसेन्स प्राप्त गरेपछि उनले कानुनी क्षेत्रमा समेत आफ्नो उपस्थिति बनाइन् ।
सीमान्तकृत समुदायबाट कानुन र समाजशास्त्र दुवै विषयमा दख्खल राख्ने महिला अत्यन्तै कम छन् । यही पृष्ठभूमिले उनलाई संसद्मा नीति निर्माणका विषयमा फरक दृष्टिकोण प्रस्तुत गर्ने क्षमता दिन्छ भन्ने विश्लेषकहरूको बुझाइ छ ।
नेकपा (एमाले)को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य रहेकी रोशनी पार्टीभित्र इमानदार, अनुशासित र सक्रिय कार्यकर्ताका रूपमा चिनिन्छिन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई समानुपातिकतर्फ जिल्ला र प्रदेश दुवैबाट सिफारिस गरिनु पार्टीभित्र उनको राजनीतिक सम्भावनाको संकेत मानिन्छ ।
पछिल्ला दुई वर्षदेखि उनी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत छिन् । त्यहाँ रहेर राष्ट्रिय राजनीति र प्रशासनिक प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाएकी रोशनीलाई यसपटक पार्टीले राष्ट्रियसभाको उम्मेदवार बनाएर जिम्मेवारी थपेको छ ।
उनको राजनीतिक यात्रा सधैँ सहज थिएन । अघिल्लो चरणमा एमालेको महाधिवेशन प्रतिनिधि बन्ने क्रममा प्राविधिक कारणले पछि परेकी उनी अहिले भने पार्टी नेतृत्वको विश्वास जित्दै निर्णायक मोडमा पुगेकी छन् । सचिवालयमा गरेको काम, पार्टीप्रतिको निष्ठा र निरन्तर सक्रियताले उनलाई यो स्थानसम्म ल्याएको नेताहरू बताउँछन् ।
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ३ सय ६७ मतदाता छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार जोड्दा कांग्रेस–एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुगेको छ । यस्तो समीकरणमा रोशनी मेचेको जित लगभग सुनिश्चित देखिएको छ ।
यदि उनी निर्वाचित भइन् भने अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रियसभामा पुग्ने पहिलो महिला तथा प्रतिनिधि बन्नेछिन् ।
प्रतिक्रिया