काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्तका कर्मचारी लुटिएको जनाइएको छ । सर्लाहीको ईश्वरपुर शाखा कार्यालयका कर्मचारी पुजा सरदार र शान्ति सरदारलाई आइतवार मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाई उनीहरुको साथबाट नगद लुटिएको संस्थाले जनाएको हो ।
आफना दुई कर्मचारी लालबन्दी नगरपालिका वडा नम्बर ३, जब्धीमा नियमित केन्द्र बैठक सञ्चालन गरी कार्यालयतर्फ फर्किने क्रममा हरिपुर जाने सडकको पोखरीटोल सडकखण्डमा मोटरसाइलमा आएका व्यक्तिहरुले रकम लुटेर फरार भएको संस्थाले जनाएको छ ।
केन्द्रकोे बैठकमा संकलित १ लाख ८४ हजार ७०५ रुपैयाँ नगदसहित कर्मचारीहरुको साथमा रहेको कार्यालय प्रयोजनका कागजातसहितकोे झोला लुटेर लुटेराहरु पूर्वदिशातर्फ फरार भएको जनाइएको छ । कर्मचारी लुटिएको सम्वन्धमा तत्कालै इलाका प्रहरी कार्यालय बयलबासमा जानकारी दिएको र भोलिपल्ट लिखित उजुरी दिएको संस्थाले जानकारी दिएको छ ।
प्रहरी प्रशासनले रकम लुटिएको विषयमा पीडित कर्मचारी, शाखाका कर्मचारी र स्थानीयहरुसँग सोधपुछ गरी जानकारी लिएर अनुसन्धान अघि वढाएको समेत जनाएको छ ।
प्रतिक्रिया