गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका–६ ताजुबाट आज एक सुत्केरी र उनको शिशुलाई उद्धार गरिएको छ। स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङका अनुसार, सडक सञ्जालले जोडिएको नभएकाले सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पुर्याइएको हो।
उद्धार गरिएको सुत्केरी लामाको यो पहिलो सुत्केरी हो। चुम्चेत स्वास्थ्य चौकीकी अनमी कल्पना सिंहका अनुसार, अवधि पूरा नभई जन्मिएका बच्चाको तौल कम भएको र दूध चुस्न नसकेको कारण तत्काल उद्धार आवश्यक परेको थियो।
स्वास्थ्य शाखा प्रमुख गुरुङले गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको जानकारी दिनुभयो।
उद्धारपछि सुत्केरी र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकीय निगरानीमा राखिएको छ।
प्रतिक्रिया