माओवादी नेता इन्द्र आङ्बो चढ्ने गाडीको ठक्करबाट ३५ वर्षीय चौधरीको मृत्यु

विहीबार, २७ कार्तिक २०८२

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा १ जनाको मृत्यु भएको छ । 

आङ्बो चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीको ठक्करबाट ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ग्रामथान–५ ककडमाडीमा दिउँसो १२ः१५ बजेतिर ठक्कर दिएको थियो । 

स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडीको ठक्करबाट मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए । उनलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाएका थिए । विराट नर्सिङमै उपचारका क्रममा दिउँसो ३ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी चुँडालले बताइन् । 

माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् । दुर्घटना भएका बेला गाडीमा उनी सवार थिएनन् । आङ्बोका आफन्तलाई लिनका लागि जाँदै गरेका बेला गाडीले दुर्घटना गराएको प्रहरी स्रोतले बतायो । 

दुर्घटना गराएका बेला गाडी तीव्र गतिमा रहेको स्थानीयले बताएका छन् । मोटरसाइकललाई ठक्कर दिने गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार