आफू बस्ने समाजले अपमान गरेको भन्दै युवकले लिए आफ्नो ज्यान

शनिबार, २८ भदौ २०८२

धनगढी :  वेदकोट नगरपालिका–४ बैतडाका २५ वर्षीय नरेश धानुकले सामाजिक अपमान र कुटपिट सहन नसकेर आत्महत्या गरेका छन्।

जानकारी अनुसार, धानुकले आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आफूलाई ‘जेनजी’ भन्दै निर्वस्त्र पारेर कुटपिट गरिएको आरोप लगाएका थिए।

भावुक हुँदै उनले सामाजिक अपमानकै कारण आफूले जीवन अन्त्य गर्न बाध्य भएको बताएका थिए। उनको अन्तिम सन्देशमा भनिएको थियो, “मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारण म फाँसी दिन गइरहेको छु।”

मृतककी दिदी हिरा धानुकका अनुसार, शुक्रवार राति साढे १० बजेतिर नरेशलाई जबरजस्ती मदिरा सेवन गराइयो र त्यसपछि निर्वस्त्र पारेर कुटपिट गर्दै गाउँभर दौडाइएको थियो।

हिरा धानुकले भनिन्, “त्यसरी अपमान गरेपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो।”

पीडित परिवारले शव नउठाउने चेतावनी दिँदै मृतकका छोराछोरीको जिम्मेवारी स्थानीय तह वा घटनामा संलग्न व्यक्तिले लिनुपर्ने माग गरेका छन्।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दर्ता भइसकेको छ। प्रहरी नायब उपरीक्षक तथा कार्यालयका प्रवक्ता सागर बोहराले घटनाको अनुसन्धान र छानबिन सुरु भएको जानकारी दिएका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार