एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

सोमबार, १९ माघ २०८२

काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ ।

महाधिवेशनको तयारीबारे जानकारी दिन आज काठमाडाँैमा आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म गरिने तय भएको जनाइएको हो । 

‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको र समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले काम सुरु गरेको जानकारी दिइयो । 

‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढिरहेको पनि जनाइएको छ । 

“सङ्घको १० औँ र ११ औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका सङ्गठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको थियो । संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ”, संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

१२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशनसम्बन्धी तयारीका काम क्रमशः अगाडि बढिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार