काठमाडौं : नेपालमा बोलिने विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिन नहुने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यस्तो धारणा राखेकी हुन्।
अध्यक्ष डा. गोपाल ठाकुरको नेतृत्वमा आएको आयोगको प्रतिनिधिण्डलले मातृभाषा शिक्षासम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेस गरेको थियो ।
प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रो देशमा १२४ वटा भाषा छन् । यी सबै हाम्रा सम्पत्ति हुन् । तर यीमध्ये कतिपय लोप हुन लागेका छन् । तर कुनै पनि भाषा मर्न दिनुहुँदैन । प्रत्येक भाषा उत्तिकै महत्वपूर्ण छन् ।’ उनले भाषाको जगेर्ना गर्न यस खालका अध्ययन अनुसन्धान भइरहनुपर्ने धारणा पनि राखिन् ।
प्रतिक्रिया