विराटनगर । मोरङको बेलबारीबाट दिउँसै चोरी भएको एउटा स्कुटर ट्राफिक प्रहरीको सतर्कताका कारण २ घण्टामै विराटनगरमा फेला परेको छ । चोरी भएको उक्त स्कुटर सोमबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
बेलबारी नगरपालिका–३ मा पार्किङ गरेर राखिएको प्र १–०२–०५२ प ६४८८ नम्बरको स्कुटर माघ १६ गते दिउँसो करिब १२ बजेतिर चोरी भएको थियो । स्कुटरका धनी सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकका नरेश भट्टराई केहीबेरका लागि स्कुटर पार्किङ गरेर शौचालय गएका थिए । फर्किएर आउँदा पार्किङमा राखिएको स्कुटर हराइसकेको थियो ।
त्यसपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार चोरी भएको जानकारी प्राप्त हुनसाथ सबैतिर चेकजाँच कडा पारिएको थियो । सोही क्रममा विराटनगरको तीनपैनीमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान नन्दकिशोर साहले शंकास्पद अवस्थामा स्कुटर देखेपछि रोकेका थिए ।
ट्राफिक प्रहरीले रोकेपछि चालक भने चाबी स्कुटरमै छाडेर फरार भएको इन्स्पेक्टर न्यौपानेले जानकारी दिए । स्कुटर चेकजाँच गर्दा डीकीभित्र बैंकको भौचर फेला परेको थियो । भौचरमा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा भट्टराईले आफ्नो स्कुटर केही समयअघि मात्र चोरी भएको पुष्टि गरेका थिए ।
ट्राफिक प्रहरीले भट्टराईलाई बोलाएर सोमबार औपचारिक रूपमा स्कुटर बुझाएको हो । चोरीमा संलग्न व्यक्ति तत्काल पक्राउ पर्न नसकेको र फरार चालकको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । यस घटनाले सामान्य सतर्कता र नियमित चेकजाँचले पनि चोरीजस्ता घटनामा कति प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने देखाएको छ ।
प्रतिक्रिया