झापा : अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा तामाङ र तेस्रो हुने मोरङ सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा अध्ययनरत सुमन ढुङ्गानालाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
उनीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको कोशीका सम्योजक नारायण पोखरेलले जानकारी दिए ।
यस्तै, सान्तवना पुरस्कार कनकाईस्थित हरिकुल नमूना माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत प्रिन्शा तिम्सिना, धुलावारी माविको कक्षा ८ मा अध्ययनरत कृतिका शिवाकोटी र पब्लिक हाईस्कूल धरान १२ चतारालाइन कक्षा १० मा अध्ययनरत तमन्ना वान्तवा राईलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीले पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगितामा प्रा.डा. गंगा अधिकारी, गोपाल काफ्ले र डा.कुमार सुवेदीले निर्णायकको रुपमा भूमिका निभाएका थिए । उत्कृष्ट विद्यार्थीहरुको नामावली निर्णायक मण्डलका सदस्य काफ्लेले घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगठनका अध्यक्ष दिपक धामीले अनेरास्ववियुका विद्यार्थीहरुको काँधमा देश बचाउने जिम्मेवारी आएको बताएका छन् । उनले देशभित्र एकता भाँड्नेहरु विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताए । युवाहरुलाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको भन्दै उनले भने, ‘अनेरास्ववियुमा आवद्ध विद्यार्थी देश जलाउनेका काममा कहिल्यै पनि लाग्न सक्दैन । देशको रक्षार्थ अनेरास्ववियु सधैं अग्रभागमा उभिनेछ ।’
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गर्विलो रहेको बताए । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै अध्यक्ष खतिवडाले नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियुमा गोलबन्ध हुन आग्रह गरेका छन् ।
युवाका नाममा देशलाई पछि धकेल्न गरिएको आन्दोलन प्रतिगमन भएको उनको भनाई थियो । भदौं २३ गते दिउँसोसम्म आन्दोलन भएपनि त्यसपछि प्रतिगमन भएको बताएका हुन् । अध्यक्ष खतिवडाले भावनामा बहकिएर युवा विद्यार्थीहरु कहिल्यै पनि दुरुपयोग हुन नहुने बताए ।
देशलाई निकास दिन प्रतिनिधिसभाको पुर्नस्थापना गर्नुपर्ने बताउँदै खतिवडाले गौरीबहादुर कार्की आयोग खारेज गर्नुपर्ने, टिओवी लेखेर आन्दोलन गर्ने र आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् । उनले प्रतिगमनलाई आन्दोलन भन्दै झुक्याउने काम नगर्न आग्रह गरे ।
यस्तै, अनेरास्ववियुको महासचिव अञ्जना शिवाकोटीले अनेरास्ववियु अब हरेक शैक्षिक संस्थाहरुको कक्षा–कक्षामा पुग्ने बताइन् । देशमा बढ्दै गइरहेको अराजकतालाई तह लगाउन अनेरास्ववियुलाई थप बलियो संगठनको रुपमा स्थापित गर्न कक्षा कक्षामा संगठन निर्माण गरिने उनको भनाई थियो ।
प्रतिक्रिया