धरान : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले देशभरका अस्पतालको प्रत्यक्ष अवलोकनमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा तथा सार्वजनिक खरिद प्रणालीमा देखिएका कमजोरी समाधानलाई शीर्ष प्राथमिकतामा राखेको बताएकी छिन् ।
आज(मंगलबार) धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी मन्त्री गौतमले स्वास्थ्य क्षेत्रमा आवश्यक विभिन्न सुधारका सुझाव निरन्तर प्राप्त भइरहेकाले तिनीहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिने जानकारी दिइन् ।
मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल ल्याब र सार्वजनिक खरिद प्रक्रिया सबै क्षेत्रका कमजोरी व्यवस्थित सुधार गर्नुपर्ने आवश्यकता स्पष्ट भएको उनको भनाई छ । ‘अस्पतालमा देखिने चुनौतीहरूको मूल कारण बुझेर सुधारतर्फ अघि बढ्नु नै मेरो निरन्तर प्रयास हो ।’ उनले भनिन् ।
चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीका समस्या, सेवा सञ्चालनका कठिनाइ र व्यवस्थापनसम्बन्धी गुनासा प्रत्यक्ष सुन्नै आफू धरान आएको मन्त्री गौतमको दबी छ । जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचारमुक्त प्रणाली निर्माण र पारदर्शी सेवा प्रवाहलाई मुख्य लक्ष्य बनाएको उनको भनाइ छ ।
संघ मातहतका अस्पतालहरूको निरीक्षण जारी रहेको उल्लेख गर्दै उनले सेवा प्रवाहको गुणस्तर, पर्खाइ समय, क्लिनिक सञ्चालन र सर्वसाधारणले भोग्नुपर्ने कठिनाइबारे नजिकबाट अध्ययन गरिरहेको जानकारी दिइन् । ‘जनताले अनावश्यक दुःख नपाओस्, सेवा सहज र व्यवस्थित होस् भन्ने उद्देश्यले निरीक्षणमा निस्किएको हुँ ।’ मन्त्री शर्मालेको भनाई छ ।
गौतमलाई प्रतिष्ठानका पदाधिकारीहरूले स्वागत गरेका थिए । मन्त्री गौतमले प्रतिष्ठानमा छिट्टै बस्न लागिरहेको सिनेट बैठकका तयारीबारे पनि प्रत्यक्ष जानकारी लिन आएको उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया