सहाराविहीन बालबालिकाको अभिभावक बन्दै रोङ गाउँपालिका

मंगलबार, १६ मंसिर २०८२

इलाम: अभिभावकविहीन हजारौँ बालबालिका पछिल्लो समय सडकमा काम गर्न बाध्य हुँदै आएका छन्। थुप्रै बालबालिका शिक्षाबाट वञ्चित छन्, धेरैले दुर्व्यवहार सहनुपरेको छ र कतिपय कुलतमा समेत फसिरहेका छन्। यिनै समस्याबीच इलामको रोङ गाउँपालिकाले बालबालिकाको भविष्य सुरक्षित गर्न प्रशंसनीय अभियान सुरु गरेको छ।

गाउँपालिकाले “अध्यक्षसँग विद्यार्थी” कार्यविधि–२०८० सार्वजनिक गर्दै अभिभावकविहीन बालबालिकालाई संस्थागत रूपमा अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)का अनुसार कार्यक्रमलाई उद्यमशीलता र आत्मनिर्भरता विकाससँग जोडेर अघि बढाइएको छ। यस अन्तर्गत एक रुपयाँ बचतदेखि उद्यमशीलता अभिवृद्धि, विद्यार्थी सहयोग र प्रोत्साहनलगायतका गतिविधि समावेश छन्।

रु एक बचत कार्यक्रम मार्फत पालिकाभित्रका बालबालिकाको बैंक खाता खोलिएको छ। दैनिक एक रुपयाँ गाउँपालिकाले बचत गरिदिन्छ भने अभिभावकले पनि एक रुपयाँ वा सोभन्दा बढी जम्मा गर्न अनिवार्य गरिएको छ। एक वर्षअघि सुरु भएको यो योजनाअन्तर्गत हालसम्म ५३ हजार रुपैयाँभन्दा बढी बचत भइसकेको पालिकाले जनाएको छ।

यसैबीच अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम सुरु भएको छ, जसअन्तर्गत ३८ बालबालिकाको शिक्षाको पूर्ण जिम्मा गाउँपालिकाले लिएको छ। कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च पालिकाले बेहोर्ने निर्णय गरिएको छ। अभिभावक नभएका २१ जना र अभिभावकविहीन १७ जना गरी ३८ विद्यार्थीको औपचारिक रूपमा अभिभावकत्व ग्रहण गरिएको हो।

गाउँपालिकाले हरेक बालबालिकाको पाँच लाख रुपैयाँ बराबरको जीवन बीमा गरिदिनेछ। अभिभावक नभएका २१ जनालाई एक–एक लाख रुपैयाँको स्वास्थ्य बीमासमेत गरिनेछ, भने अभिभावकविहीन १७ जनाको स्वास्थ्य सेवा पालिकाले नै व्यवस्थापन गर्नेछ। प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले वार्षिक १० हजार रुपैयाँ जम्मा गरिदिनेछ र सोही खातामा स्थानीय सिद्धि हाइड्रोपावरले २० हजार रुपैयाँ थप्नेछ। उच्च शिक्षा अध्ययन गर्दा मात्र यो रकम निकाल्न मिल्ने व्यवस्था गरिएको छ।

कार्यक्रम सुरु भएलगत्तै धेरै सहाराविहीन बालबालिका पहिचान भएका भए पनि भविष्यमा यो संख्या थपिन सक्ने सम्भावना रहेको पालिकाले जनाएको छ। आफ्ना सन्तानलाई पढाउन नसक्ने अभिभावकले जानकारी गराएमा उनीहरूको समेत अभिभावकत्व ग्रहण गरिने गाउँपालिकाको योजना छ।

हालका लागि बैंक खातामा जम्मा रकम निकाल्न नपाइने व्यवस्था गरिएको छ। कक्षा १२ सम्म पालिकाले पूर्ण जिम्मेवारी लिने र त्यसपछिमात्र बचत रकम उपयोग गर्न पाउने प्रणाली अपनाइएको छ। बालबालिकाको भविष्य अन्योलमा नपरोस् भन्ने सोचले यस्तो व्यवस्था गरिएको अध्यक्ष स्याङ्बोले बताए।

उपाध्यक्ष विष्णुकुमारी भुजेलका अनुसार बालबालिकाको भविष्य सुरक्षाका लागि जनप्रतिनिधि, अभिभावक र विद्यार्थी सबै सचेत हुन आवश्यक छ। कार्यक्रमलाई दिगो बनाउन सामूहिक जिम्मेवारी आवश्यक पर्ने उनको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले अभिभावकविहीन बालबालिकाको सहारा राज्यले नै बन्नुपर्ने बताउँदै पालिकाले अपनाएको निर्णय देशभरकै लागि उदाहरण बन्न सक्ने उल्लेख गरे। विद्यार्थीका लागि तयार गरिएको सामग्री प्याकेजमा कापी, कलम, ब्याग, स्विटर, ट्र्याकसुट, जुत्ता, मोजा, क्यालकुलेटर, ज्यामिति बक्स, पेन्सिल, पानी बोतल र टिफिन बक्स समावेश गरिएको छ। देशभरि नै यस्तो कार्यक्रम पहिलो पटक सञ्चालन गरिएको गाउँपालिकाको दाबी छ।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार