निरन्तर बिरामीको सेवामा टिचिङका नर्स

शनिबार, २८ भदौ २०८२

विराटनगर : सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्धको प्रदर्शनपछि मोरङमा जारी निषेधाज्ञा र कर्फ्यूको बीचमा पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्सहरूले बिरामीको उपचारमा निरन्तर सेवा दिइरहेका थिए।

अस्पताल प्रशासनका अनुसार मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको यस अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु लगायतका ठाउँबाट आउने नर्सहरूलाई आवतजावतमा समस्या भोग्नु परेको थियो। परिचयपत्र र अस्पतालको पोशाक देखाउँदा पनि बाटोमै रोक्ने घटना भएको नर्सहरूले बताएका छन्।

आईसीयू लेभल–३ की नर्सिङ इन्चार्ज माधुरी राईले भनिन्, “हिजो मात्रै एक स्वास्थ्यकर्मीलाई अस्पतालको पोशाक र परिचयपत्र देखाउँदा समेत बाटोबाट फर्काइयो।” उनले सुरक्षाकर्मीहरूले स्वास्थ्यकर्मी भनेर देखाउँदा पनि रोक्ने गरेको गुनासो गरिन्।

नर्सिङ स्टाफ रिया खड्काले दैनिक काममा आउँदा यातायातमा ठूलो समस्या हुने गरेको बताइन्। विराट मेडिकलमा कार्यरत करिब ५२० नर्समध्ये धेरै टाढाबाट आउने भएकाले व्यवस्थापनमा कठिनाइ भएको नर्सिङ सुपरिन्टेन्डेन्ट आयुष्मा शाक्यले बताइन्। बिरामीको चाप बढेको अवस्थामासमेत सेवामा निरन्तर खटिएको उनले उल्लेख गरिन्।

राईका अनुसार एक जना पनि स्वास्थ्यकर्मी कम भएमा बिरामीको सेवामा असर पर्ने भएकाले अस्पतालले टाढाका कर्मचारीका लागि बसको व्यवस्था गरेको छ। “मनमा डर भए पनि आफ्नो कर्तव्य निभाउन पाउँदा खुशी लाग्छ। जस्तोसुकै परिस्थितिका लागि पनि हामी सधैं तयार छौं,” राईले भनिन्।

उनले कोरोना महामारीको समयमा जस्तै अहिले पनि स्वास्थ्यकर्मीहरू बिरामीको सेवामा प्रतिबद्ध रहेको बताइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार