विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्कीले वर्तमान सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिलाई अस्वीकार गर्ने बताएका छन् ।
धनकुटामा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने, “गौरीबहादुर कार्कीको छवि विवादित छ । उनको नेतृत्वमा बनेको समिति निष्पक्ष हुनै सक्दैन । सबैले स्वीकार गर्न सक्ने समिति बने मात्र एमालेले मान्यता दिनेछ ।”
उनले वर्तमान सरकारले देशमा चुनावको वातावरण बनाउन नसकेको आरोप पनि लगाए । “प्रहरीका हातबाट गोलीगठ्ठा, हतियार र बर्दी खोसिएका छन् । ती अहिलेसम्म फिर्ता भएका छैनन् । यस्तो अवस्थामा शान्ति–सुरक्षाको प्रत्याभूति कसरी हुने ?” — कार्कीले प्रश्न गरे ।
मुख्यमन्त्री कार्कीले प्रहरी कार्यालयदेखि सवारीसाधनसम्म जलाइएका घटनाले कानून–व्यवस्था कमजोर भएको उल्लेख गर्दै भने, “के प्रहरीले साइकल र घोडामा चढेर शान्ति सुरक्षा दिने ? यस्तो अवस्थामा चुनाव सम्भव छैन ।”
संविधानलाई बाइपास गरेर बनेको वर्तमान सरकारबाट निष्पक्ष निर्वाचन सम्भव नभएको दाबी गर्दै उनले भने, “संसद पुनःस्थापना गरेर सबै पक्षलाई समेटेर नयाँ सरकार गठन गर्नुपर्छ, त्यसपछि मात्रै देश चुनावतर्फ जान सक्छ ।”
उनले हालको राजनीतिक अस्थिरतालाई विदेशी शक्तिहरूले फाइदा उठाउन खोजिरहेको टिप्पणी पनि गरे । “जेन्जी आन्दोलनको नाममा केही तत्वहरूले विद्रोह मच्चाउन खोजिरहेका छन् । ती बिस्तारै सार्वजनिक हुँदै जानेछन् र उनीहरूको वास्तविक उद्देश्य जनताले बुझ्नेछन्,” उनले भने ।
मुख्यमन्त्री कार्कीले १५ गते धनकुटाबाट सुरु हुने देशव्यापी जनप्रदर्शनमार्फत एमालेले जनदबाब सिर्जना गर्ने घोषणा पनि गरे ।
प्रतिक्रिया