खाँदबारीमा सेकाहा महोत्सव सुरु

शुक्रबार, ११ पुस २०८२
सेकाहा महोत्सव

खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर४ सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नगरप्रमुख थपलियाले सेकाहाको ऐतिहासिक महत्वलाई उजागर गर्दै यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

महोत्सवमा विभिन्न समुदायको झाँकी, स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद सञ्चालन गरिनेछ । गाउँ अवलोकन, पर्यटकीयस्थल भ्रमण र होमस्टे प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।
गुरुङ समुदायको बाक्लो बस्ती रहेको सेकाहामा सामूहिक रूपमा तमु ल्होसार मनाइँदैछ । यसले जातीय सद्भाव र भाइचारा बढाउने आयोजकको विश्वास रहेको छ । आयोजक समितिका अध्यक्ष मनिराज गुरुङले महोत्सवले स्थानीय संस्कृतिको संरक्षणमात्र नभई गाउँको आर्थिकस्तर उकास्न र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन टेवा पुर्याउने विश्वास गरिएको समेत वताए । महोत्सव आगामी मङ्गलबारसम्म सञ्चालन हुने छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार