झापा : नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले काठमाडौं महानगरका मेयर बालेन शाहलाई झापाबाट निर्वाचन लड्ने सपना नदेख्न चेतावनी दिएका छन्। बिहीबार झापाको बिर्तामोड र दमकमा एमालेद्वारा आयोजित 'खबरदारी सभा'लाई सम्बोधन गर्दै पाठकले बालेन शाह झापा क्षेत्र नं. ५ मा उम्मेदवार बने उनको जमानत जफत हुने दाबी गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र (झापा–५) बाट बालेन शाह निर्वाचन लड्ने चर्चा भइरहेका बेला नेता पाठकले कडा टिप्पणी गरेका हुन्। उनले भने, “झापाली जनता सचेत छन्, बालेन शाहका लागि झापाको धर्ती अत्यन्तै दुखद र अशुभ हुनेछ। यहाँ उहाँको जमानत जफत गरेर हामी देखाइदिनेछौं।”
सुशीला कार्की नेतृत्वको सरकारको विरोध
कार्यक्रममा एमाले नेताहरूले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार 'असंवैधानिक' भएको आरोप लगाएका छन्।
सडक आन्दोलनको घोषणा: नेता पाठकले सरकारलाई घुँडा टेकाउन एमाले सडकमा उत्रिएको बताउँदै संसद् पुनस्र्थापना नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए।
विदेशी हस्तक्षेपको आरोप: एमाले नेताहरूले विदेशी शक्तिको इसारामा देश सिध्याउने खेल भइरहेको भन्दै त्यसको प्रतिकार गर्ने बताए।
एमाले झापाका अध्यक्ष प्रेम गिरीले संविधान मिच्ने र विदेशीको स्वार्थ पूरा गर्ने तत्वहरूलाई तह लगाउन एमाले 'टाउकोमा काँक्रो बाँधेर' सडकमा निस्किएको टिप्पणी गरे। उनले एमाले चुनावबाट कहिल्यै नभाग्ने र जनताको सबैभन्दा लोकप्रिय शक्ति भएको दाबी समेत गरे।
यस्तै, केन्द्रीय सदस्य देवेन्द्र दाहालले दमकको कोणसभामा बोल्दै निर्वाचन गराउने नाटक छोडेर पहिला संसद् पुनस्र्थापना गरी संविधानलाई ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए।
एमालेले झापाका प्रमुख व्यापारिक केन्द्रहरू बिर्तामोड र दमकमा एकैदिन शक्ति प्रदर्शन गर्दै बजार परिक्रमा गरेको थियो। नेताहरूले यो कार्यक्रम केवल खबरदारीको सुरुवात भएको र सरकारले आफ्नो कदम नसच्चाए देशव्यापी जनलहर सिर्जना गर्ने उद्घोष गरेका छन्।
प्रतिक्रिया