जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्नेको धमाधम तस्बीर सार्वजनिक गर्दै प्रहरी

बुधबार, २६ कार्तिक २०८२

झापा:  झापामा जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको तस्वीर सार्वजनिक गर्दै प्रहरीको खोजी तीब्र बनाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले सामाजिक सञ्जालमार्फत फोटो र भिडियोको आधारमा आरोपितको पहिचान गर्दै उनीहरूलाई पक्राउ गर्न सुरु गरेको हो।

झापाका इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय दमकमा आगजनी, तोडफोड, हातहतियार लुटपाट र पोशाक चोरीमा संलग्न व्यक्तिहरूको तस्वीर सार्वजनिक गरिएको छ। प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले भने, “सिसीटीभी फुटेज र सामाजिक सञ्जालका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको छ।”

हालसम्म झापामा मात्रै १४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा बिर्तामोड–५ का नवराज राई, राजन चौधरी, आयूष धिमाल, कनकाई–१ का गोपाल सङ्ग्रौला, कनकाई–३ का विष्णु विक, शिवसताक्षी–१० का कुशल तिम्सिना, सोही वडाका सञ्जय बस्नेत, बिर्तामोड–५ की पूजा मगर, अर्जुनधारा–७ का सुरज राई, दमक–३ का रियाज सिलवाल, इलाम चुलाचुली–३ का नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ का साजन ल्हागुन रहेका छन्।

जसमध्ये दुई जना आज गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नं। ४ चकचकी घर भई बिर्तामोड– २ रामचोकमा लालबहादुर गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुन र ईस्रप खातुनसंगै लुटपाटमा संलग्न बिर्तामोड– २ रामचोक बस्ने २२ वर्षीय विकास टुडु रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ५४ थान गोली बरामद गरेको छ । 

यस अघि पक्राउ परेकाहरुलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

यसैबीच जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीमा झापाका १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार यसमा स्थानीय तहका १२ भवन, ५५ वडा कार्यालय, १० संघीय कार्यालय भवन, ३ प्रादेशिक कार्यालय भवन, निजी आवास ३७, व्यावसायिक भवन २, प्रहरी चौकी-पोष्ट १०, सार्वजनिक भवन १ र विद्यालय भवन १ रहेका छन्।

त्यसैगरी, दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय ८ गरी ठूलो क्षति पुगेको छ। लुटिएका ९९ थान हतियारमध्ये ७७ फिर्ता भइसकेको र २२ थान अझै फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले भनेका छन् कि तस्बीर र भिडियोको आधारमा संलग्नको पहिचान गर्दै खोजी तीब्र बनाइएको छ, र बाँकी आरोपितलाई पनि चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार