सिन्धुपाल्चोक: जेन-जी आन्दोलनका क्रममा केही सरकारी कर्मचारीले देशभरका संरचना जल्दा खुसी मनाएको भन्दै जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले ती कर्मचारीलाई चेतावनी दिएका छन्।
अध्यक्ष स्याङ्बोले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अब ती कर्मचारी कार्यालयमा हाजिर नहुनुपर्ने स्पष्ट पारेका छन्। उनका अनुसार, “देश जलिरहेको बेला खुसी मनाउने कर्मचारी सरकारी काममा लायक हुँदैनन्।”
स्याङ्बोले लेखेका छन्, “जेन-जी आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध थियो। यसको पक्षमा उभिनु स्वाभाविक हो।
तर केही कर्मचारी र शिक्षकले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका संरचना जल्दा खुसी मनाउँदै अब स्थानीय सरकारको पालो भन्दै कमेन्ट पोस्ट गरेका छन्।
अब ती कर्मचारी भोलिदेखि कार्यालयमा हाजिर नहुनु होला। तपाईँहरू सरकारी कर्मचारी हुन लायक छैन!”
उनले थपे, “देशको ठुलो धनराशि तपाईँहरू जस्तै ‘भष्मासुर’ राखेर बनाउन सकिँदैन। तपाईँहरूले आफैँ बुझेर राजीनामा दिनुहोला। हाम्रोसँग सम्बन्धित कर्मचारी र शिक्षकको स्क्रीनसट सुरक्षित छ।”
यस घटनाले जेन-जी आन्दोलनप्रति सरकारी कर्मचारीको व्यवहार र जिम्मेवारीबारे व्यापक चर्चा सुरु गरिसकेको छ।
प्रतिक्रिया