विराटनगर । विराटनगरको ऐतिहासिक प्रतिष्ठा बोकेको विराट गोल्डकप फुटबल प्रतियोगिता यसपटक घाटाबाट नाफामा पुगेको छ। तर आयोजकले अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जनाएको छ।
बिहीबार मोरङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विराट गोल्डकपको नवौं संस्करणको आर्थिक विवरण सार्वजनिक गरिएको हो। आयोजकका संयोजक उद्योगी नवीन रिजालका अनुसार, प्रतियोगिता सम्पन्न भएको करिब ८ महिनापछि सार्वजनिक गरिएको विवरणमा गोल्डकपले करिब २ लाख ९४ हजार ३ सय ७४ रुपैयाँ ३४ पैसा नाफा कमाएको देखिएको छ।
उनका अनुसार यस वर्षको प्रतियोगितामा कुल आम्दानी १ करोड ७ लाख २१ हजार १ सय ८७ रुपैयाँ ०० पैसा र कुल खर्च १ करोड ४ लाख २६ हजार ८ सय १२ रुपैयाँ ६६ पैसा भएको छ। यसअनुसार करिब तीन लाख रुपैयाँ बराबरको नाफा देखिएको हो। “घाटामा गइरहेको गोल्डकपलाई यसपटक नाफामा पुर्याउन सफल भयौं, तर बजारमा अझै पनि केही रकम उठ्न बाँकी छ ” रिजालले भने ।
आयोजक समितिले प्रस्तुत गरेको विवरणअनुसार, प्रतियोगिताबाट ५० लाख ४८ हजार ७ सय ४० रुपैयाँ प्रयोजकबाट, २३ लाख ९ हजार ५ सय रुपैयाँ टिकट बिक्रीबाट, विराटनगर महानगरपालिकाबाट १४ लाख ८२ हजार ९ सय ९२ रुपैयाँ, कोशी प्रदेश खेलकुद विकास बोर्डबाट ५ लाख ९२ हजार ४५ रुपैयाँ, कोशी प्रदेश सरकारबाट ४ लाख ९२ हजार ५ सय रुपैयाँ, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापाको संसद विकास कोषबाट ४ लाख ९३ हजार ३ सय १० रुपैयाँ, राष्ट्रिय खेलकुद परिषद्बाट २ लाख ९५ हजार ५ सय रुपैयाँ र अन्य सहयोगबाट ६६ हजार रुपैयाँ संकलन भएको थियो।
तर संयोजक रिजालले केही प्रतिबद्धता जनाएका सहयोगीहरूले अझै रकम नदिएको गुनासो गरे। उनका अनुसार, प्रदेश सरकार र खेलकुद विकास बोर्डबाट अपेक्षाकृत सहयोग प्राप्त गर्न नसकिँदा आर्थिक पक्षमा चुनौती सामना गर्नुपर्यो। उनले भने, “अत्यधिक राजनीति र बार्गेनिङबीच पनि गोल्डकप सफल भयो, तर सहयोगमा निकै अवरोध भयो।”
यसअघि गोल्डकपको सातौं र आठौं संस्करणमा क्रमशः ८७ लाख र २२ लाख रुपैयाँ बराबरको घाटा भएको थियो। लगातार दुई वर्ष घाटा बेहोरेको गोल्डकपले यो पटक नाफा कमाएर सन्तोषजनक उपलब्धि हासिल गरेको आयोजकको भनाइ छ। रिजालले भने, “फुटबललाई राजनीति र स्वार्थको खेल नबनाऔं, यसलाई खेलकुदको भावना र सहकार्यका साथ अघि बढाऔं।”
फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा सम्पन्न गोल्डकपमा देशका प्रमुख क्लबलहरूको सहभागिता रहेको थियो। फाइनलमा थ्री स्टार क्लबले डार्बी क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो। विजेता टिमले ११ लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गरेका थिए।
पत्रकार सम्मेलनमा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हुँदा सहयोगको प्रतिबद्धता जनाए पनि रकम नपाएको गुनासो गरे। उनका अनुसार, २५ लाख रुपैयाँ दिने भनिएको प्रदेश सरकारको सहयोग आजसम्म प्राप्त हुन सकेको छैन।
उता, पूर्वमुख्यमन्त्री कार्कीले भने क्याबिनेटबाट निर्णय हुन नसकेका कारण सहयोग रोकिएको स्पष्ट पारे। उनका अनुसार, “मुख्यमन्त्रीको गोजीबाट होइन, सरकारको प्रक्रियाबाट पैसा आउँछ, त्यसैले कागजी प्रक्रिया पूरा नहुँदा सहयोग दिन नसकिएको हो।”
आयोजकले गोल्डकपको दशौं संस्करण अझ बढी व्यवस्थित र पारदर्शी रूपमा आयोजना गर्ने योजना बनाएको जनाएको छ। संयोजक रिजालले एन्फासँग समन्वय गरी आगामी एक महिनाभित्र नयाँ संस्करणको मिति तय गरिने बताए।
प्रतिक्रिया