इटहरी : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका सबै प्रकारका हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार, मतदानअघि हातहतियार तथा खरखजानालाई फिर्ता हुने व्यवस्था गर्दै २०८२ माघ २१ गतेभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा बुझाउन भनिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यका साथ यस्तो निर्देशन जारी गरिएको जानकारी दिएका छन्।
सूचनामा तोकेको समयसीमाभित्र हातहतियार बुझाउन नआएमा नियन्त्रणमा लिएर प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ। उनले निर्वाचनको सुरक्षामा सबै पक्षले सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया